निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पहिलो विमान ल्याएको करिब पाँच महिनापछि व्यवसायिक उडान अनुमतिको नजिक पुगेको छ। श्री एयरलाइन्सले शुक्रबार प्रुभिङ फ्लाइट गर्ने अनुमति पाएको छ।
कुनै पनि वायुसेवा कम्पनीले व्यवसायिक उडान गर्नुभन्दा पहिले नियमक निकायका पदाधिकारीहरुको सुपरीवेक्षनमा हुने यस्तो उडानले कम्पनीको उाडन सुरक्षा केकस्तो छ भनेर प्रमाणित गर्नलाई गर्ने गरिन्छ।
प्राधिकरणले श्रीलाई विभिन्न चरणका परीक्षणपछि शुक्रबारको लागि प्रुभिङ फ्लाइटको अनुमति दिएको त्यसका क्यानका पदाधिकारीहरुको सुपरीवेक्षण हुने उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।
शक्रबार विहान साढे ११ बजे श्रीको सिआरजे–२००(‘९एन–एएमए’ कलसाइन) ले उक्त प्रमाणित उडान गरेको श्रीका म्यानेजर अनिल मानन्धरले जानकारी दिए। उक्त विमान काठमाडौंदेखि भद्रपुर, विराटनगर हुँदै काठमाडौं आउनसक्ने मानन्धरले जानकारी दिए।
श्रीको यो उडान सम्पन्न भएपछि क्यानका पदाधिकारीहरुले उक्त उडानको रिपोर्ट बुझाएपछि पहिलेका केही फाइन्डिङहरु सुधार गर्न आवस्यक भएपछि तिनको सुधारसहित श्रीले उडान अनुमति(एओसी) पाउने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। श्रीले व्यवसायिक उडान गर्न अझै एक साताजति समय लाग्नसक्ने पोखरेलको भनाइ छ।
नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति अघिल्लो साउनमै पाएको थियो। उसले गएको चैत ३१ गते र वैशाख १६ गते दुई सिआरजे–२०० सिरिजका जेट विमान नेपाल ल्याइसकेको थियो भने तेस्रो विमान सिआरजे–७०० असार ९ गते ल्याएको थियो।
क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने बताएको छ।
नागरिक उड्डयन प्राधिकरणले इन्सपेक्सन गरिसकेको र त्यसको रिपोर्ट अध्ययनको क्रममा रहेकोले छिट्टै उडान अनुमति पाउने आशमा आफूहरु रहेको मानन्धरले बताए।
कुल दुई अर्ब लगानी थप गरेर तीन वटा विमानबाट सेवा सुरु गर्ने योजना बनाएको श्रीले नेपालको आन्तरिक हवाई उडानमा गुणस्तरिय यात्रा अनुभव, सस्तो सहुलियत सेवा दिइने मानन्धरले दाबी गरे।
श्रीका विमान लामो समयदेखि विमानस्थलमा पार्किङ शुल्क र ऋणको ब्याज, अरु खर्च गरी करोडौं खर्च भइरहेको बताएको थियो। यो अवधिमा श्रीले पार्किङ शुल्कमात्र २५ लाखभन्दा माथि बुझाइसकेको छ। उसका सिआरजे–२०० काठमाडौं र सिआरजे–७०० नेपालगंज पार्किङ गरिराखेको थियो।
५० सिट क्षमताका दुई वटा सिआरजे–२०० विमान ल्याएको श्रीले पहिलोको लागि ‘९ एन–एमसी’ र दोस्रोको लागि ‘९ एन–एएमए’ नेपाली कलसाइन पाएको छ। त्यस्तै असारमा आएको श्रीको तेस्रो जेट विमान ७८ सिट क्षमताको भए पनि त्यसलाई ७० सिटको बनाउने श्रीको योजना छ। श्रीको सिआरजे–७०० विमानलाई प्राधिकरणले ‘९ एन–एमबी’ दर्ता नम्बर दिएको छ।
सुगम क्षेत्रमा मात्र उडान गर्ने योजना बनाएको श्रीका तीन वटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी रूटमा नियमित उडान गर्नेछन्। त्यस्तै काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्नसक्ने उसको योजना छ।
२४ सिटे एमआई–१७ र एयरबस हेलीकप्टर्स ‘एएस३५० बिथ्रिई’ चार वटा छन्। नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले अन्तरिक सँगै अन्तर्राष्ट्रिय (क्षेत्रीय) उडान गर्ने योजना पनि बनाएको छ।
श्रीसँग तीन वटा विमानमा कूल १७० सिट क्षमता हुने छ भने उसले पाँच स्थानमा काठमाडौंबाट उडान गर्ने योजना बनाएको छ।