पछिल्लो समय काठमाडौं उपत्यकामा अपार्टमेन्ट तथा हाउजिङ बढ्दै गएका छन्। व्यवस्थित खानेपानी, ढल तथा फोहोर व्यवस्थापन प्रणाली, सुरक्षा जस्ता सुविधाका कारण पनि आकर्षण बढ्दै गएको हो।
अझ भित्रै किराना पसल, मुभी थिएटर, स्विमिङ पुल, जिमखाना, खेलकुदका लागि आवश्यक संरचना पनि प्रशस्त भएका हाउजिङ बन्ने क्रम बढिरहेको छ।
यस्तै हाउजिङमध्ये एक हो गोदावरीको टौखेलमा बनिरहेको 'गोदावरी भ्याली।'
सुविधासम्पन्न अल्ट्रा मोर्डन हाउजिङका रूपमा तीन व्यावसायिक घराना विशाल ग्रुप, देवेनारा र बाबा ग्रुपको संयुक्त लगानीमा गोदावरी भ्याली बन्न लागेको हो। यसको निर्माण जिम्मा भूमि डेभ्लपर्स प्रालिले सम्हालेको छ।
भूमि डेभ्लपर्सका अनुसार यो हाउजिङ गोदावरी जाने मुख्य सडकसँग जोडिएको ४० रोपनी जग्गामा बन्नेछ। यहाँ ७१ वटा घर बन्नेछन्।
'शान्त तथा रमणीय ठाउँमा बसोबास गर्न खोज्नेलाई लक्षित गरी लक्जरियस हाउजिङ बनाउन लागिएको हो,' कम्पनीका मार्केटिङ प्रमुख मानसराज जोशीले बताए।
उनका अनुसार कम्पनीले हाउजिङका लागि बाटो लगायत भौतिक पूर्वाधार बनाउने काम सुरू गरिसकेको छ। घर निर्माण काम भने कम्पनीले आगामी मार्चको पहिलो साताबाट थाल्नेछ। साढे दुई वर्षभित्र निर्माण सक्ने योजना रहेको पनि जोशीले जानकारी दिए।
'साढे दुई वर्षमा काम सकेर घरधनीलाई हस्तान्तरण गर्ने योजना हो। ७१ वटा घर एकै पटक बनाएर सक्छौं,' उनले सेतोपाटीसँग भने।
कम्पनीले प्रि–बुकिङ भने गत माघदेखि खुला गरिसकेको छ। हालसम्म २५ वटा घर बुकिङ भइसकेको जोशीले बताए।
करिब तीन अर्ब लगानीमा बन्न लागेको गोदावरी भ्यालीमा तीन प्रकारका घर हुनेछन्- टाइप ए, बी र सिएम।
यसमध्ये 'ए' र 'सिएम' बराबर क्षेत्रफलमा निर्माण हुनेछन्। यी खाले घरको कुल क्षेत्रफल २६ सय ३५ स्क्वायर फिट हुनेछ। टाइप 'बी' घरको भने ३३ सय ६० स्क्वायर फिट हुनेछ।
'साढे चारदेखि १२ आना क्षेत्रफलसम्मका घर बन्नेछन्,' उनले भने।
मार्केटिङ प्रमुख जोशीका अनुसार आधुनिक डिजाइनका सबै घर साढे दुई तलाका हुनेछन्। हरेक घरमा आ–आफ्नो पार्किङ सुविधा हुनेछ।
टाइप 'ए' र 'बी' घरहरूको क्षेत्रफल फरक भए पनि डिजाइन उस्तै-उस्तै हुनेछ।
'ए' घरमा लिभिङ रूम, डाइनिङ, किचन, पूजाकोठा र फ्यामेली रूम एक/एक वटा हुनेछन्। यस्तो घरमा पाँच वटा बेडरूम हुन्छन्।
टाइप 'बी' घरमा लिभिङ रूम, डाइनिङ रूम, किचन, फ्यामेली रूम, पूजा कोठा एक-एक वटा हुनेछन्। छ वटा बेडरूम हुन्छन्। यो घरमा मल्टिपर्पोज हल पनि हुनेछ।
किचन, डाइनिङ र ठूलो लिभिङ रूम घरको भुइँ तलामा हुनेछ। यसमा एउटा कमन ट्वाइलेट र बाथरूम हुन्छ। आवश्यकता अनुसार भुइँ तलामा एउटा बेडरूम निकाल्न सकिने जोशी बताउँछन्।
पहिलो तलामा तीन बेडरूम हुन्छन्। एउटा फेमिली रूम हुन्छ। यो तलामा बरन्डा पनि हुनेछ।
माथिल्लो तलामा दुइटा बेडरूम, पूजाकोठा, कमन बाथरूम हुनेछ।
जोशीका अनुसार सबै घरमा आकर्षक बिजुली-बत्ती प्रयोग हुनेछ, 'घर निकै आकर्षक हुने हुँदा भित्र छिर्नेबित्तिकै लक्जरियस महसुस हुनेछ।'
सबै घर भूकम्प प्रतिरोधीसमेत हुने कम्पनीको दावी छ। वास्तुशास्त्रलाई पनि ध्यानमा राखेर घर बनाइएको कम्पनीले जानकारी दिएको छ।
गोदावरी भ्यालीमा बन्ने यी घरको मूल्य तीन करोड ८० लाखदेखि नौ करोडसम्म तोकिएको छ। साढे चार आनामा बन्ने साढे दुई तले घरको मूल्य तीन करोड ८० लाख रूपैयाँ हो। आवश्यकता अनुसार १२ आनासम्मका घर भएकाले चारदेखि नौ करोडसम्म मूल्य पर्ने कम्पनीले बताएको छ।
'यी अल्ट्रा मोर्डन हाउसमा विभिन्न आकर्षक सेवा-सुविधा हुनेछ,' जोशीले भने, 'हाउजिङमा चार लेनको सडकसहित खुला क्षेत्र हुनेछ।'
यसबाहेक रेजिडेन्सियल क्लब, हेल्थ क्लब, फिटनेस सेन्टर तथा मल्टिपर्पोज कम्युनिटी बिल्डिङ हुनेछ। मल्टिपर्पोज कम्युनिटी हलमा सामुदायिक सेमिनार, विवाह, ब्रतवन्धलगायत धार्मिक क्रियाकलाप तथा जमघट गर्न सकिन्छ।
यो हाउजिङमा हुने नयाँ सुविधा भनेको विद्युतीय सवारी चार्जिङ पोर्ट हो। पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले यो सुविधा थपिएको कम्पनीको भनाइ छ।
'विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसन सहरमा छैनन्। त्यसैले हामीले सहजताका लागि पोर्ट बनाउने भएका हौं,' कम्पनीका मार्केटिङ प्रमुख जोशीले भने।
यहाँको अर्को आकर्षण भनेको 'रूफ टप' क्याफे हो। उक्त क्याफेबाट उपत्यकाको धेरै दृश्य देखिनेछ।
विलासीपूर्ण जीवनका लागि इन्टेरियर (भित्री भाग) सोहीअनुसार डिजाइन गरिएको छ। यहाँ 'हिटेड' स्विमिङ पुल हुन्छ। चिसो मौसममा तातो पानीमा पौडिएर मज्जा लिन सकिन्छ।
त्यस्तै सुविधायुक्त जिम हल हुनेछ। इन्डोर गेमहरूको मज्जा लिन सकिन्छ। बाथ-सिस्टम र साउना सुविधाले थप आनन्द प्रदान गर्नेछ। यी सुविधा भएपछि दिनभरिको कामको थकान मेटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ।
जोशीका अनुसार यो हाउजिङमा तारहरू भूमिगत हुनेछन्, वरपर गुजुल्टा देखिने छैनन्। चौबीसै घन्टा पानी व्यवस्था हुनेछ।
यो हाउजिङको अर्को विशेषता घर-घरबीच पर्खाल हुने छैन। कुनै घर पर्खाल लगाएर घेरिएका हुँदैनन्। वस्ती खुला बनाउन पर्खाल नबनाइएको हो।
हरेक घरअगाडि बगैंचा, हरियाली र पर्याप्त खुला ठाउँ बनाइनेछ। केटाकेटीका लागि खेल्नका लागि बेग्लै खुला ठाउँ हुनेछ।
हाउजिङमा सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।
'चौबीसै घन्टा सुरक्षा गार्ड र सिसी क्यामरामार्फत निगरानी हुने हुँदा पूर्ण सुरक्षा प्रत्याभूत हुनेछ,' जोशी भन्छन्।