चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार बढेको छ। फागुनको तुलनामा घरजग्गा कारोबार बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार यो वर्षको माघ र फागुनमा उस्तैउस्तै संख्यामा कारोबार भएको थियो। चैतमा आएर थोरै संख्यामा उकालो लागेको छ।
चैतमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ५५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस्तो किनबेच माघमा दुई हजार एक सय ९० संख्यामा थियो। फागुनमा जम्मा ६ मात्र बढेर दुई हजार एक सय ९६ पुगेको थियो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने यो वर्ष समग्र कारोबार नै एकदमै कम छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै पोहोरभन्दा कम कारोबार भएको हो।
पोहोर साउनदेखि चैतसम्म कुल कारोबार संख्या ४२ हजार दुई सय ९८ थियो। यस वर्ष यही अवधिमा जम्मा १७ हजार ७ सय ६७ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।
गत आर्थिक वर्षको चैतको कुरा गर्दा चार हजार ७ सय ७६ संख्यामा घरजग्गा कारोबार भएको थियो।
कारोबार संख्या बढेसँगै जग्गा कित्ताकाटको संख्या पनि बढेको छ। फागुनमा चार सय ९२ संख्यामा कित्ताकाट हुँदा चैतमा सात सय सात संख्यामा कित्ताकाट भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो वर्ष कित्ताकाट आधाभन्दा कम हो। गत आर्थिक वर्ष साउनदेखि चैतसम्म यस्तो कित्ताकाट संख्या १० हजार ६ सय ४७ थियो। यसपालि यही समयमा भएको कित्ताकाट संख्या ४ हजार ४ सय ८८ मात्र छ।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको छ। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा कमी आएको हो।
तर घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै मंगलबार मात्र मन्त्रिपरिषद बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको छ। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्।
स्थानीय तहहरूलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्न भनिएको छ। सरकारले गत मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। विभागका सूचना अधिकारी विष्णु कुमार महतका अनुसार हालसम्म करिब एक सय ५६ पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको छ।
तीमध्ये केही पालिकाले सबै विधामा जग्गा छुट्याएका छन्। मन्त्रालयले अरू पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजीकरण गरिरहेको उनले बताए।
जग्गा व्यवसायीहरू भने अहिले भइरहेको किनबेच पनि व्यावसायिक नभएको बताउँछन्।
यो नियमित कारोबार नभई व्यवहार मिलाउने उद्देश्यले किनबेच भइरहेको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
‘अहिले साविकको जस्तो नियमित कारोबार भएको छैन, होइन। कतिपयले आफ्नो व्यवहार मिलाउन जग्गा दिएर व्यक्तिहरूसँग ऋण लिइरहेका छन्। कतिपय चाहिँ बैंकबाट ऋण लिएकाहरूको जग्गा बैंकले नै बिक्री गरिरहेका हुन्,’ उनले भने।
काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्– कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
यो वर्ष पहिलेका महिनामा झैं चैतमा पनि काठमाडौंमा भएको कारोबारमध्ये सबभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष चैतमा ८ सय २९ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट चैतमा ५ सय १९ संख्यामा कारोबार गरेको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
चैतमा मनमैजु कार्यालयबाट कारोबार भएको छैन। फागुनमा यस कार्यालयबाट दुई सय ७४ संख्यामा कारोबार भएका थियो। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट २ सय २८ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय ६५ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
देशभर घरजग्गा कारोबारको कुरा गर्दा गत आर्थिक वर्ष २०७८/७९ को चैतको तुलनामा चालु आर्थिक वर्षको चैतमा ३० प्रतिशत कम छ। गत वर्ष चैतमा देशभर ७० हजार ८ सय २९ संख्यामा घरजग्गा किनबेच भएको थियो। यस वर्ष चैतमा ४९ हजार एक सय ५० संख्यामा किनबेच भएको छ।