घर बनाउन सिमेन्ट अत्यावश्यक सामग्री हो। सहरी क्षेत्रमा मात्रै होइन गाउँका घरमा पनि सिमेन्ट निर्विकल्प बनिसकेको छ।
मागअनुसार सिमेन्टको भाउ बेलाबेलामा हेरफेर भइरहन्छ। तर केही समययता निर्माण सामग्रीको मूल्य खासै घटबढ भएको छैन।
सिमेन्टको भाउ भने विगत ६/७ महिनायता प्रतिबोरा ५० रूपैयाँदेखि एक सय रूपैयाँ घटबढ भएको व्यवसायीहरूले बताएका छन्।
बजारमा विभिन्न कम्पनीका सिमेन्ट पाइन्छ। ब्रान्ड र सिमेन्टको प्रकार हेरेर मूल्य फरक हुन्छ।
अहिले सिमेन्टको भाउ कति छ भन्ने जान्नुअघि हामीकहाँ प्रयोग हुने सिमेन्टको प्रकारबारे थाहा पाउन जरूरी छ।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ।
ओपिसी छिटो सुक्छ। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ। ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ।
ढलानका लागि ओपिसी मात्रै प्रयोग हुन्छ भन्ने चाहिँ होइन। लामो फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ। पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा पिपिसी धेरै प्रयोग हुन्छ।
अहिले बजारमा ओपिसी सिमेन्टको भाउ बोराको ६ सय ५० देखि सात सय रूपैयाँ रहेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अचुतम कटुवालले जानकारी दिए। उनका अनुसार पिपिसी सिमेन्टको मूल्य भने ओपिसीको तुलनामा एक सय रूपैयाँ सस्तो हुन्छ।
'अहिले निर्माण सामग्रीको खपत नै छैन। त्यो भएर मूल्य धेरै हेरफेर भने भएको छैन,' उनले भने।
निर्माणको काम सुस्त भएकाले यसमा लाग्ने सामग्रीहरूको माग कम भएको उनले बताए।
जुनसुकै अवस्थामा सिमेन्ट किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ।
सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा उत्पादन गरिएको हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०८० साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०८० र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०८० र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०८० सालको ५ औं हप्तामा बनेको हो। बनेको मितिबाट तीन महिनाभित्र प्रयोग हुने हिसाबले किन्नुपर्छ।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।
सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने समस्या आउँछ वा संरचना कमजोर हुन्छ।
चार कोठाको एक तले घर बनाउन कति चाहिन्छ सिमेन्ट, कति लाग्छ खर्च?
हामीले यहाँ चार वर्षदेखि घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीको सहयोगमा चार कोठाको एक तले घर बनाउँदा सिमेन्टमा लाग्ने खर्चको विवरण निकालेका छौं।
कार्कीका अनुसार सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ।
नौ इन्चको गारो लगाउँदाभन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।
'सामान्यतया अहिले नौ इन्चको गारो लगाएर बाह्र वटा पिलर राख्छन्,' उनले भने।
उनका अनुसार नौ इन्चको गारो र बाह्र वटा पिलर राखेर बनाउने हो भने एकतले घर बनाउन पिपिसी र ओपिसी गरी करिब चार सय ५० बोरा सिमेन्ट लाग्छ।
आजभोलि घरमा टायल–मार्बल लगाउने चलन छ। टायल–मार्बल पनि लगाउने हो भने थप सिमेन्ट लाग्ने उनी बताउँछन्।
'टायल–मार्बल लगाउने हो भने थप ७० बोरा सिमेन्ट लाग्छ,' उनले भने।
टायल र मार्बल राखेर एक तले घर बनाउने हो भने कम्तीमा पाँच सय २० बोरा सिमेन्ट अनुमान गर्नुपर्ने हुन्छ।
यसमध्ये पिलर र ढलानमा गरेर ओपिसी दुई सय बोरा चाहिन्छ। त्यस्तै, जोडाइ, प्लास्टर र फिनिसिङमा करिब तीन सय २० बोरा पिपिसी प्रयोग हुन्छ।
अहिलेको मूल्यका हिसाबले दुई सय बोरा ओपिसीमा एक लाख ४० हजार रूपैयाँसम्म खर्च लाग्छ।
त्यस्तै, बोराको सय रूपैयाँ हाराहारी सस्तो पर्ने भएकाले पिपिसीमा करिब दुई लाख रूपैयाँ अनुमान गर्नुपर्छ।
यसरी दुवैथरी सिमेन्टमा गरेर साढे तीन लाख रूपैयाँ हाराहारी खर्च हुन्छ।
हेटौंडा सिमेन्ट भने महँगो भएकाले खर्च बढ्ने कार्कीले बताए।