घरका लागि अत्यावश्यक निर्माण सामग्रीको भाउ के-कस्तो छ भन्ने जिज्ञासा तपाईंहरूलाई पनि हुन सक्छ। व्यवसायीहरूका अनुसार घर बनाउने मुख्य निर्माण सामग्रीहरू इँटा, गिटी–बालुवा, सिमेन्ट र डन्डी हुन्।
पछिल्लो समय डन्डीको भाउ थोरै घटेको छ भने अरूको भाउ लगभग स्थिर छ।
हेरौं कुन निर्माण सामग्रीको मूल्य कति छ।
इँटा
काठमाडौं उपत्यकामा धादिङको स्थानीय इँटा धेरै चल्तीमा छ। यो अरू इँटाभन्दा सस्तो पर्छ। भक्तपुरे र तराईबाट आउने इँटा पनि उत्तिकै प्रयोग हुन्छ। भक्तपुरेको भाउ धादिङको इँटाकै हाराहारी पर्छ भने तराईको अलि महँगो पर्छ।
काठमाडौंको बल्खुमा रहेको गोल्डेन निर्माण सप्लायर्सका सञ्चालक ऋषि खतिवडाका अनुसार अहिले यी तीन खाले इँटाको भाउ गोटाको १४ रूपैयाँदेखि १६ रूपैयाँसम्म पर्छ।
बजारमा धादिङ र भक्तपुरे लोकल इँटा प्रतिगोटा १४ रूपैयाँमा बिक्री भइरहेको तराईको एक नम्बर इँटा प्रतिगोटा १६ रूपैयाँ छ।
'यो ६ महिना अघिदेखिको भाउ हो। निर्माण सामग्रीको खपत नहुँदा मूल्य घटबढ भएको छैन, स्थिर छ,' खतिवडाले भने, 'अहिले देशको आर्थिक अवस्थासँगै उपभोक्ताको किन्ने क्षमता पनि कम छ।'
गिटी–बालुवा
काठमाडौं उपत्यकामा विगत ६ महिनादेखि गिटी–बालुवाको भाउ घटबढ भएको छैन। खतिवडाका अनुसार अहिले उपभोक्ताले गिटी प्रतिटिपर ३० हजार रूपैयाँमा पाइरहेका छन्। त्यस्तै, बालुवा प्रतिटिपर २८ हजार रूपैयाँ छ।
'अहिले निर्माणको काम सुस्त भएकाले गिटी–बालुवाको भाउ धेरै समयदेखि तलमाथि भएको छैन,' खतिवडाले भने।
काठमाडौंमा धादिङको माधवबेसी, आग्रा खोला, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी, बैरेनी लगायत ठाउँबाट गिटी–बालुवा आउने गरेको छ। सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आयात हुने गिटी–बालुवा गुणस्तरीय मानिने वितरकहरू बताउँछन्।
सिमेन्ट
सिमेन्टको भाउमा विगत ६/७ महिनायता प्रतिबोरा ५० रूपैयाँदेखि एक सय रूपैयाँ घटबढ भएको व्यवसायीहरूले बताएका छन्।
बजारमा पाइने विभिन्न ब्रान्ड र सिमेन्टको प्रकार हेरेर मूल्य फरक हुन्छ।
घर बनाउने ओपिसी र पिपिसी गरी दुई थरीका सिमेन्ट चाहिन्छ।
अहिले बजारमा ओपिसीको भाउ बोराको ६ सय ५० देखि सात सय रूपैयाँ रहेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले जानकारी दिए। पिपिसी भने ओपिसीको तुलनामा एक सय रूपैयाँ सस्तो हुन्छ।
'अहिले निर्माण सामग्रीको खपत नै छैन। त्यो भएर मूल्य धेरै हेरफेर भने भएको छैन,' उनले भने।
डन्डी
कटुवालका अनुसार अहिले छडको भाउ किलोमा ५ देखि ७ रूपैयाँ घटेको छ। दुई साताअघि प्रतिकिलो एक सय ३ देखि एक सय ५ रूपैयाँ किलोमा कारोबार भइरहेको थियो। हाल घटेर ९५ देखि एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
डन्डीको आकार हेरेर भाउ फरक पर्छ। १०, १२ र १६ मिमी डन्डीको मूल्य अहिले प्रतिकिलो ९५ रूपैयाँ छ। त्यस्तै ८, २० र २५ मिमीको एक सय रूपैयाँ पर्छ।
'यो भाउमा कम्पनी र ब्रान्डअनुसार थोरै तलमाथि हुन सक्छ,' उनले भने।
एक तले घर बनाउन कति लाग्छ यी निर्माण सामग्रीमा खर्च?
यहाँ हामीले एक हजार वर्गफिटभन्दा कममा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरमा यी निर्माण सामग्रीको लागत अनुमान विवरण तयार पारेका छौं। विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकसँगको कुराकानीपछि यहाँ घरको संरचनाका लागि मात्र निर्माण सामग्री हिसाब गरिएको छ।
सिमेन्ट
सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ।
नौ इन्चको गारो लगाउँदाभन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।
सामान्यतया अहिले नौ इन्चको गारो लगाएर बाह्र वटा पिलर राख्छन्।
नौ इन्चको गारो र बाह्र वटा पिलर राखेर बनाउने हो भने एकतले घर बनाउन करिब चार सय ५० बोरा सिमेन्ट लाग्छ। टायल–मार्बल पनि लगाउने हो भने थप ७० बोरा सिमेन्ट लाग्छ।
यसमध्ये ओपिसी दुई सय बोरा र करिब तीन सय २० बोरा पिपिसी प्रयोग हुन्छ।
दुवैथरी सिमेन्टमा अहिलेको भाउअनुासर साढे तीन लाख रूपैयाँ हाराहारी खर्च हुन्छ।
हेटौंडा सिमेन्ट भने महँगो भएकाले खर्च बढ्छ।
इँटा
प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २५ देखि ३० हजार इँटा अनुमान गर्नुपर्छ।
यदि गोटाको १४ रूपैयाँ पर्ने भक्तपुर र धादिङको इँटा किन्ने हो भने तीन लाख ५० हजार रूपैयाँदेखि ४ लाख २० हजार रूपैयाँसम्म पर्छ।
तराईको इँटा राख्यो भने चार लाखदेखि ४ लाख ८० हजार रूपैयाँसम्म चाहिन्छ।
पर्खाल/गारो मात्रै लगाएर चार कोठे घर बनाउने हो भने एक लाख ५० हजारदेखि दुई लाख १० हजार रूपैयाँसम्म छुट्ट्याउनु पर्छ।
गिटी–बालुवा
सामान्य एक तले घर बनाउन दुई टिपर गिटी भए पुग्छ। त्यस्तै बालुवा चार टिपर चाहिन्छ।
हालको मूल्यअनुसार एक तले घर बनाउन गिटी र बालुवामा गरी एक लाख ७५ हजार रूपैयाँसम्म छुट्ट्याउनुपर्ने देखिन्छ।
डन्डी
हरेक कोठामा दुइटा झ्याल र १२ वटा पिलर भएको चार कोठे घर बनाउँदा जगदेखि ढलानसम्म करिब ६ हजार किलो डन्डी अनुमान गर्नुपर्छ।
पछि तला उठाउने हो भने पिलरको भाग बढ्छ। अहिले एक तला घर बनाउने र पछि थप्न भनेर पिलर उठाएर छोड्ने हो भने माथि भनिएको परिमाणको डन्डी आवश्यक पर्छ। तला नथपी छाडिराख्ने हो भने छड थोरै कम लाग्छ।
एक तले घरमा मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो बाइन्डिङ वायर प्रयोग हुन्छ।
हाल विभिन्न कम्पनीअनुसार डन्डीको भाउ किलोको ९५ देखि एक सय रूपैयाँसम्म छ। यसकै आधारमा हेर्दा एक तले घर बनाउन छडमा मात्र करिब ६ लाख रूपैयाँसम्म खर्च हुन सक्छ।