भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गा हदबन्दीको समस्या समाधान गरिने बताएकी छिन्।
बिहीबार आठौं रियलस्टेट मेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जग्गा हदबन्दीका कारण विकासका ठूला आयोजनामा असर परेको बताएकी हुन्।
'हदबन्दीले विकासका ठूला आयोजनामा असर परेकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको छ,' उनले भनिन्।
घरजग्गा कारोबारले अर्थतन्त्र चलायमान बनाउन सघाउने उनको भनाइ छ।
घरजग्गा कारोबारलाई सहजीकरण गर्न मन्त्रालयले कानुनी सुधार गरिरहेको समेत उनले जानकारी दिइन्।
'भू–उपयोग नियमावली संसोधन गरेर कित्ताकाट खुला गरेका छौं,' उनले भनिन्।
घर जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष दिपक कुवरले घरजग्गा व्यवसाय सुस्ताउँदा निर्माण सामग्रीको व्यवसायमा पनि असर परेकाले यसको कारोबारलाई सहजीकरण गरिदिन भूमी मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन्।
'कोभिडदेखि नै व्यवसाय सुस्ताएकाले हामी चिन्तित थियांै। कित्ताकाट खुलेपछि केही सहज भएको छ,' उनले भने, 'अहिले हदबन्दीको समस्या छ। मन्त्री ज्यूलाई यसको समाधान पनि गरिदिन आग्रह गर्छौं।'
संघका अध्यक्ष विदुर धमलाले नेपालमा घरजग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले सर्वसाधारणहरूले व्यवसायीप्रतिको सोच बदल्नुपर्ने बताए।
उनका अनुसार कम्पनी खडा गरेर कारोबार गर्ने व्यवसायी र अनौपचारिक कारोबार गर्ने व्यवसायीलाई एउटै स्थानमा राखेर धारणा राख्न नहुने उनको भनाइ छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधारमा लगानी बढाउनु पर्ने बताएका छन्।
मेलाको सह–संयोजक रोसन बयोधाले मेलाको स्टलहरूमा विभिन्न अफरहरूको सुविधा हुने भएकाले अवलोकनकर्ताले आफ्नो इच्छाअनुसारको सेवा लिन सक्ने बताए।
उनका अनुसार मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूलाई आ–आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शन गर्न ६० वटा स्टलको व्यवस्था गरिएको छ।
नेपाल जग्गा तथा आवास विकास संघका अनुसार मेला पुस १२ देखि १५ गतेसम्म चल्नेछ।
यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई व्यवसायलाई समय साक्षेप विकास एवम् विस्तार गर्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवम् सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायीहरू र यसका उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुर्याउने तथा उपभोक्ताहरूले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन्।
यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरू सहभागी छन्।
मेलामा विद्युतीय सरसामानहरू, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले आ–आफ्ना उत्पादनहरू प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ।
मेलाबाट एकातर्फ योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरू खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरूले सुरक्षित एवम् व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत् उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरू बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरूलाई विशेषज्ञहरूद्वारा सो सम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो व्यवसायमा आवद्ध व्यवसायी तथा उपभोक्ताहरू दुबैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ।
कम्तीमा ६० हजारभन्दा बढी दर्शकहरूले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ।