हामीले घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ। घरका लागि नभइ नहुने निर्माण सामग्रीमध्ये एक सिमेन्ट पनि हो।
आज हामीले आवासीय घर बनाउन चाहिने सिमेन्टको परिमाण र यसको लागतबारे जानकारी दिएका छौं। यसका निम्ति हामीले निर्माण सामग्री विक्रेता र निर्माण व्यवसायीहरूको सहयोग लिएका छौं।
सिमेन्टमा लाग्ने खर्चभन्दा अगाडि हामीले यसको प्रकारबारे थाहा पाउन जरूरी हुन्छ। बजारमा विभिन्न कम्पनीका सिमेन्ट पाइन्छन्। ब्रान्ड र प्रकार हेरेर मूल्य फरकफरक हुन्छ।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग हुन्छ। छिटो सुक्ने भएकाले निर्माण चाँडै निर्माण सुक्नुपर्ने वा छिटो फर्मा खोल्नुपर्ने ठाउँमा ओपिसी प्रयोग गरिन्छ। लामो समय फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ।
नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अचुतम कटुवालका अनुसार अहिले बजारमा ओपिसीको भाउ बोराको ६ सय ५० देखि सात सय रूपैयाँ छ। पिपिसीको भाउ ओपिसीको तुलनामा एक सय रूपैयाँ सस्तो हुन्छ।
निर्माणको काम सुस्त भएकाले सामग्रीहरूको माग कम भएको र भाउमा खास हेरफेर नभएको उनले बताए।
जुनसुकै अवस्थामा सिमेन्ट किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ।
सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा उत्पादन गरिएको हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०८० साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०८० र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०८० र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०८० सालको ५ औं हप्तामा बनेको हो। बनेको मितिबाट तीन महिनाभित्र प्रयोग हुने हिसाबले किन्नुपर्छ।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।
सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने समस्या आउँछ वा संरचना कमजोर हुन्छ।
साढे दुईतले घर बनाउन कति सिमेन्ट चाहिन्छ र यसमा कति पैसा छुट्ट्याउनुपर्ला त?
हामीलाई यसबारे डाउनटाउन हाउजिङ कम्पनीका इञ्जिनियर आशिष विष्टले जानकारी दिएका छन्।
नौ सयदेखि एक हजार वर्गफिटमा (चार आनासम्मको जग्गामा), चारपांग्रे र दुईपांग्रेको पार्किङसहित भुइँतला र पहिलो तलामा तीन/तीनवटा कोठा र माथि दुइटा कोठा र एउटा बाथरूम भएको घर बनाउन लाग्ने सिमेन्टको विवरण यहाँ प्रस्तुत गरिएको छ।
यो नापोअनुसार घर बनाउँदा प्रत्येक कोठा १२ फिट चौडाइ र १४ फिट लम्बाइको हुनेछ। सबभन्दा माथिल्लो तलामा कोठाबाहेक कौसी, पूजाकोठा र लुगा धुने ठाउँ बनाइन्छ। चार कुना मिलेको जग्गा छ भने कोठाको आकार बढाउन पनि सकिन्छ।
सिमेन्टको अनुमान घरमा राखिने पिलर, बिम र फिनिसिङले निर्धारण गर्छ। नौ इन्चको गारो लगाउँदाभन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। तर सकेसम्म नौ इन्चकै गारो लगाएर बाह्रवटा पिलर राख्न इञ्जिनियर विष्ट सुझाउँछन्। यस्तो गर्दा घर बलियो हुने उनले बताए।
घरमा टायल मार्बल नराख्ने हो भने सिमेन्ट झनै कम लाग्छ। तर आजभोलि सहरी क्षेत्रका अधिकांश घरमा टायल-मार्बल राखिन्छ। तत्काल बजेटले नभ्याए टायल–मार्बल पछि राख्न पनि मिल्छ। तर पछि खर्च बढ्छ।
त्यस्तै पर्खाल (कम्पाउन्ड) लाउन पनि सिमेन्ट चाहिन्छ।
इञ्जिनियर विष्टका अनुसार नौ इन्चको गारो र बाह्रवटा पिलर राखेर साढे दुईतले घर बनाउन ओपिसी र पिपिसी गरी १५ सय बोरा सिमेन्ट लाग्छ।
'यति सिमेन्ट भए टायल–मार्बल र कम्पाउन्ड लगाउन समेत पुग्छ,' उनले भने।
अहिलेको भाउअनुसार साढे दुईतले घरमा चाहिने १५ सय बोरा सिमेन्टका लागि साढे आठ लाखदेखि साढे ९ लाख रूपैयाँ खर्च हुने देखिन्छ।
यो लागत अनुमान काठमाडौंमा बन्ने घरलाई केन्द्रित गरिएको हो। सिमेन्ट कारखाना नजिक भएका ठाउँ र ढुवानी अनुसार खर्च थपघट हुन सक्छ।