घर बनाउने रहर धेरैलाई हुन्छ। अधिकांशले आफ्नो रोजाइको डिजाइन सोचिसक्नुभएको होला। तर कतिलाई कस्तो घर बनाउने भन्ने अलमलले सताइरहेको हुन्छ।
निर्माण व्यवसायीहरूका अनुसार अहिले साढे दुईतले घर धेरै चल्तीमा छ। कतिले अहिले एकतले घर बनाए पनि पछि तला थप्ने उद्देश्यले नै बनाएका हुन्छन्। त्यसैले आज हामीले तपाईंंहरूलाई साढे दुईतले घरका चलेका मोडलबारे छोटकरीमा जानकारी दिएका छौं।
अहिले साढे दुईतले घरका मुख्य रूपमा ३ मोडल चल्तीमा रहेको विगत आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपाल कम्पनीका प्रबन्ध निर्देशक आर्किटेक्ट इञ्जिनियर सन्दीप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार तीन मोडल हुन्- फ्ल्याट, बंग्लो र डुप्लेक्स (फ्ल्याट बंग्लो)।
यी मोडल नौ सय वर्गफिट जमिनमा बन्ने चारकोठे घरका हुन्। यसमा एउटा गाडी पार्किङ हुन्छ। पार्किङको तल पानीट्यांकी बनाइन्छ।
यो क्षेत्रफलमा बन्ने प्रायः घरका बेडरूमहरू आकार १२ फिट लम्बाइ र १२ फिट चौडाइका हुन्छन्। लिभिङरूम १५ फिट लम्बाइ र १२ फिट चौडाइको हुन्छ। भान्सा ९ फिट लम्बाइ र ९ फिट चौडाइको हुन्छ भने डाइनिङरूम १२ फिट लम्बाइ र १२ फिट चौडाइको हुन्छ। त्यस्तै बाथरूम ६ फिट लम्बाइ र ५ फिट चौडाइका हुन्छन्।
आर्किटेक्ट इञ्जिनियर श्रेष्ठका अनुसार हरेक मोडलका आफ्नै विशेषता छन्।
सबभन्दा पहिले कुरा गरौं फ्ल्याट मोडलको घरको।
यो मोडलको घर विशेषगरी भाडामा दिने उद्देश्यले बनाइन्छ। माथिल्लो तलामा जान बाहिरबाट भर्याङ डिजाइन गरिएको हुन्छ। प्रत्येक फ्ल्याटमा छुट्टाछुट्टै परिवार बस्न मिल्नु यो मोडलको मूल्य विशेषता हो। त्यसका लागि एउटा तलाबाट अर्को तलामा जाँदा कसैलाई असर नगरोस् भनेर बाहिरबाट अलग्गै भर्याङ राखिन्छ।
'फ्ल्याट सिस्टमका घरमा तल्लो तला भाडामा दिएर माथिल्लो तला आफैं प्रयोग गर्छु भन्न पनि सकिन्छ। अन्य मोडलको घरमा भने यो सुविधा हुँदैन,' श्रेष्ठले भने।
यसको भुइँतलामा एउटा लिभिङरूम, एउटा भान्सा, एउटा डाइनिङरूम, एउटा बेडरूम र एउटा कमन बाथरूम हुन्छ।
पहिलो तलामा पनि भुइँतलाकै डिजाइन हुन्छ।
अनि सबभन्दा माथिल्लो तलामा भने दुइटा बेडरूम हुन्छ। एउटा कोठामा अट्याच बाथरूम हुन्छ भने अर्को कमन बाथरूम हुन्छ। यसबाहेक लन्ड्रीरूम, पूजाकोठा र बाँकी भाग कौसी हुन्छ।
'माथि पनि छुट्टै भाडामा दिने हो भने दुइटा बेडरूमको सट्टा एउटामा भान्सा निकाल्न पनि सकिन्छ,' श्रेष्ठले भने, 'तर कोठा मात्र चाहिने पनि हुन सक्छ। आवश्यकता अनुसार डिजाइन गर्न सकिन्छ।'
अर्को चल्तीको मोडल हो बंग्लो।
यो मोडलको घर व्यक्तिगत अर्थात् आफैं मात्र प्रयोग गर्न बनाइन्छ। यसमा भान्सा, डाइनिङरूम वा लिभिङरूमसँग जोडर माथिल्लो तलामा जान मिल्ने गरी भर्याङ डिजाइन गरिएको हुन्छ।
'यस्तो घर बनाउँदा खुला ठाउँ धेरै हुन्छ,' उनले भने।
यस प्रकारको घर छुट्टै कोठा वा फ्ल्याट भाडामा दिन्छु भन्न मिल्दैन। त्यसैले घर बनाउने बेलामा आफ्नो आवश्यकता के हो भन्ने घरधनीले पहिल्यै निधो गर्नुपर्छ। आफूलाई नचाहिएको अवस्थामा भने पूरै घर भाडामा दिन सकिन्छ।
'यो मोडल लक्जरी घरभित्र पर्छ। आफूले मात्रै प्रयोग गर्ने भएपछि यसमा तुलनात्मक रूपमा महँगा सामानहरू राखिन्छ,' श्रेष्ठले भने, 'इन्टेरियर डिजाइन पनि बढी हुन्छ।'
यसको भुइँतलामा गेस्टरूम, लिभिङरूम, भान्सा, डाइनिङरूम र कमन बाथरूम हुन्छ।
पहिलो तलामा तीनवटा बेडरूम र एउटा कमन बाथरूम हुन्छ। एउटा बेडरूममा अट्याच बाथरूम हुन्छ।
माथिल्लो तलामा भने दुइटा बेडरूम (एउटामा अट्याच बाथरूम), एउटा कमन बाथरूम, लन्ड्रीरूम, पूजाकोठा र बाँकी भाग कौसी हुन्छ।
अहिले चलनमा रहेको तेस्रो मोडल हो डुप्लेक्स।
डुप्लेक्स मोडलको घर भुइँतला भाडामा दिने र बाँकी आफूले प्रयोग गर्ने गरी बनाइन्छ। भुइँतला र माथिल्लो तलामा जान छुट्टै प्रवेशद्वार हुन्छ।
पहिलो तलामा जान बाहिरबाट भर्याङ राखिन्छ। त्यसपछिको तलामा जान भने भित्र वा बाहिर दुवैबाट भर्याङ राख्न सकिने श्रेष्ठ बताउँछन्।
'भित्रबाट भर्याङ राख्दा पनि हुन्छ, बाहिरकै भर्याङसँग जोडेर बनाउन पनि सकिन्छ,' उनले भने।
यो मोडलको घरको भुइँतलामा एउटा लिभिङरूम, एउटा भान्सा, एउटा बेडरूम र एउटा कमन बाथरूम हुन्छ।
बाँकी रहेका तलामा भने एउटा भान्सा, डाइनिङरूम, एउटा लिभिङरूम, तीनवटा बेडरूम (एउटामा अट्याच बाथरूम), कमन बाथरूम, लन्ड्रीरूम, पूजाकोठा र बरन्डा हुन्छ।
'डुप्लेक्स घर धेरैजसो सानो परिवार भएकाहरूले बनाउँछन्,' श्रेष्ठले भने।
घर बनाउनुअघि आफ्नो आवश्यकता के हो, प्रयोजन के हो र कस्तो बनाउन सकिन्छ भन्नेबारे दक्ष इञ्जिनियरको सल्लाह लिन जरूरी रहेको पनि उनले बताए।