घरजग्गा जोड्ने प्रायः सबैको सपना हुन्छ। सहरीकरण, पूर्वाधार विकास लगायतका आधारमा देशभर जग्गाको मूल्य फरक छन्। व्यक्तिले आफ्नो बजेट र आवश्यकताको आधारमा जग्गा किन्ने स्थान तय गर्छ।
आर्थिक मन्दीले घरजग्गा कारोबार दुई वर्षयता सुस्ताएको छ। तर पछिल्लो महिनामा नीतिगत सुधार हुन थालेसँगै घरजग्गा कारोबार पनि बढ्न थालेको देखिन्छ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार पुसमा देशभर ४५ हजार संख्यामा घरजग्गा किनबेच भएको छ। मंसिरको तुलनामा पुसमा ८.३३ प्रतिशतले कारोबार वृद्धि भएको हो। मंसिरमा देशभर ४१ हजार ८ सय ५१ संख्यामा कारोबार भएको थियो।
चालु आर्थिक वर्षको पुसमा भएको कारोबार गत वर्ष पुसको तुलनामा पनि १६ प्रतिशतले बढी छ। गत वर्ष पुसमा देशभर ३८ हजार ८ सय ७१ संख्यामा घरजग्गा किनबेच भएको थियो।
देशभरका जिल्लामध्ये सबभन्दा धेरै कारोबार हुने पाँच प्रमुख जिल्लामा मोरङ, झापा, दाङ, सुनसरी र सर्लाही छन्।
घरजग्गा व्यवसायीहरूका अनुसार यीमध्ये कतिपय ठाउँमा जग्गा किनेर केही समय राख्ने र बेच्ने सोचले खरिदबिक्री भइरहेको छ। कतिपय ठाउँमा भने बसाइँसराइ बढिरहेकाले कारोबार वृद्धि भएको हो।
पुसमा सबभन्दा धेरै घरजग्गा किनबेच जिल्लामध्ये मोरङ पहिलो नम्बरमा छ। मोरङमा पुसमा दुई हजार ८ सय ७३ संख्यामा घरजग्गा कारोबार भएको छ। मंसिरमा पनि सबभन्दा बढी घरजग्गा किनबेच हुनेमध्येमा मोरङ पहिलो नम्बरमै थियो।
औद्योगिक क्षेत्र आसपास भएकाले यहाँ भौतिक पूर्वाधार पनि पुगेका छन्। कोशी प्रदेशको राजधानी विराटनगर भएकाले यस ठाउँको आसपासमा घरजग्गा कारोबार भइरहेको जग्गा तथा आवास विकास संघ, मोरङका अध्यक्ष घनश्याम पोखरेलले बताए।
‘राजधानीमा अलि कारोबारको चहलपहल छ,’ उनले भने, ‘अन्यत्र कारोबार ठप्प छ।’
अहिले भएका सबै घरजग्गा कारोबार वास्तविक कारोबार नभई हिसाब मिलानका लागि पनि भएको उनले बताए।
विगतमा नगद ऋण लिएकाहरूले कित्ताकाट खुलेसँगै टुक्रा जग्गा दिएर हिसाब मिलाएका छन्। यसकारण घरजग्गा कारोबार बढेको देखिएको हो।
‘अहिले हातमा नगद लिएर घरजग्गा किन्छु भन्ने कमै छन्,’ उनले भने, ‘कित्ताकाट खुलेपछि हिसाब मिलानका कारोबार भएका छन्।’
गत जेठमा भू-उयोग नियमावली आएसँगै कित्ताकाट रोकिएको थियो। केही महिनायता मात्रै सरकारले कित्ताकाट खुलाएको छ।
विगतको तुलनामा कारोबारमा शिथिलता आएको उनको भनाइ छ।
कारोबारको आधारमा दोस्रो स्थानमा झापा जिल्ला परेको छ। पुसमा झापामा दुई हजार पाँच सय ६४ संख्यामा घरजग्गा कारोबार भएको छ। मंसिरमा यहाँ दुई हजार दुई सय ९४ संख्यामा घरजग्गा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार झापा, मोरङ र सुनसरी जस्ता जिल्लामा आसपासका पहाडी क्षेत्रबाट बसाइँसराइ धेरै हुने गरेको छ। यहाँ इलाम, पाँचथर, तेह्रथुम र धनकुटा लगायत पहाडी जिल्लाबाट बसाइँ सरेर आउने प्रवृत्ति छ। त्यसैले यी क्षेत्रमा जग्गा किनेर मूल्य बढेपछि बिक्री गर्ने सोचले भन्दा पनि घर बनाउने उद्देश्यले किनबेच भइरहेको छ।
धेरै घरजग्गा कारोबार हुने तेस्रो जिल्ला दाङ हो। दाङमा पुस महिनामा दुई हजार तीन सय ५९ संख्यामा घरजग्गा कारोबार भएको छ। मंसिरमा यहाँ दुई हजार एक सय ८३ संख्यामा घरजग्गा किनबेच भएको थियो।
यो क्षेत्रमा पनि बसोबासको उद्देश्यले नै घरजग्गा कारोबार हुने गरेको जग्गा तथा आवास विकास संघ, दाङका अध्यक्ष श्रीधर महराले बताए।
‘जिल्लाकै ग्रामीण भेगमा रहेका स्थानीयहरू छोराछोरी पढाउन यहाँका सहरी क्षेत्रमा बसाइँ सर्ने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा घरजग्गा किनबेच भइरहन्छ।’
उनका अनुसार रूकुममा जलविद्युत आयोजना निर्माण हुँदैछ। आयोजना आसपासका स्थानीयहरू सहरी क्षेत्रमा बसाइँसराइ गरिरहेका छन्।
दाङ लुम्बिनी प्रदेशको राजधानी भएकाले पनि यहाँ घरजग्गा कारोबार बढेको अनुमान व्यवसायीहरूको छ।
त्यस्तै सुनसरीमा दुई हजार दुई सय ३० संख्यामा घरजग्गा कारोबार भएको छ। यो कारोबार संख्याको आधारमा चौंथो प्रमुख जिल्ला हो। यहाँ मंसिरमा एक हजार आठ सय ६३ संख्यामा कारोबार भएको थियो।
कारोबार संख्याको आधारमा सर्लाही पाँचौं स्थानमा छ। शिक्षा, स्वास्थ्य लगायत आवश्यक पूर्वाधार भएकाले पनि यहाँ आसपासबाट आएर जग्गा किन्नेहरूको संख्या बढेको व्यवसायीहरूको भनाइ छ।
सर्लाहीमा पुसमा एक हजार आठ सय ६ संख्यामा घरजग्गा कारोबार भएको छ। मंसिरमा यहाँ एक हजार सात सय ५६ संख्यामा घरजग्गा कारोबार भएको थियो।
यी पाँच जिल्लामा तीन लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्ममा एक कट्ठा जग्गा पाइन्छ। अन्य सहरका तुलनामा यो मूल्य सस्तो भएकाले पनि धेरैको आकर्षण रहेको यी क्षेत्रका घरजग्गा व्यवसायीहरू बताउँछन्।
त्यसपछि घरजग्गा कारोबारको आकर्षण काठमाडौंमा देखिन्छ। काठमाडौंमा एक हजार सात सय ६३ संख्यामा कारोबार भएको छ।
अहिले समस्यामा परेका धेरै सहकारीहरूले बचत फिर्ता गर्न नसकेका आफ्ना ग्राहकलाई जग्गा दिएर व्यवहार मिलाउन थालेका छन्। यही कारण जग्गा कारोबारमा वृद्धि देखिएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले पनि बताए।
‘सहकारीहरूले बचतकर्तालाई पैसा दिन नसकेर जग्गा दिइरहेका छन्,’ उनले भने, ‘त्यसैले अहिले भएको कारोबारलाई वास्तविक कारोबार मान्न सकिँदैन।’
उनका अनुसार सहकारीले मात्रै नभएर व्यक्तिले पनि ऋण तिर्न नसक्दा जग्गा नै दिने गरेका छन्। काठमाडौं उपत्यका बाहिर यस्तो कारोबार धेरै भएको आफूले जानकारी पाएको उनले बताए।