पञ्चकन्या स्टिल्सका फलामे छडहरूले 'ग्रीन-प्रो' प्रमाणपत्र पाएका छन्। कम्पनीका ५०० एक्सडी र ५५० एक्सडी छडले ग्रीन-प्रो प्रमाणपत्र पाएका हुन्।
यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या नेपालकै पहिलो छड कम्पनी भएको पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले बताए।
'ग्रीन-प्रो प्रमाणपत्र पाउनुले पञ्चकन्या वातावरणीय दिगोपन र निर्माण उत्कृष्टतामा प्रतिबद्ध छ भन्ने प्रस्ट भएको छ,' उनले भने।
उनका अनुसार 'ग्रीन-प्रो इकोलेबल' मान्यता पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन्। यो मान्यता संसारभर लागू हुन्छ र यो पाउन विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ।
यीमध्ये केही प्रमुख मापदण्ड यी हुन्-
- उत्पादन गर्दा निस्केको पदार्थ (फोहोर) कति छ र त्यसको व्यवस्थापन कम्पनीले वातावरणमा असर नपर्ने गरी कति राम्ररी गरेको छ।
- उत्पादन क्रममा वातावरण प्रदूषण हुने मात्रा कति छ।
- उत्पादनको गुणस्तर र टिकाउपन कस्तो छ।
- कुनै पनि भवनलाई हरित प्रमाणपत्र पाउन त्यो उत्पादन प्रयोग गर्दा सहज हुन्छ कि हुँदैन। अर्थात हरित सामग्री प्रयोग भएको भए भवनले पनि हरित प्रमाणपत्र पाउन सहज हुन्छ। गुणस्तरीय भएकाले किफायती हुन्छ र सुरक्षित पनि हुन्छ।
'यीबाहेक अरू पनि थुप्रै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। पञ्चकन्याले ती सबै पूरा गरेर आफूलाई अब्बल सावित गरेको छ,' कार्यकारी निर्देशक श्रेष्ठले भने।
पञ्चकन्यालाई ग्रीन-प्रो प्रमाणपत्र भारतीय उद्योग परिसंघ केन्द्रले दिएको हो। यो मान्यतालाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिन्छ।
श्रेष्ठका अनुसार भारतमा सयौं छड उद्योग छन् तर टाटा जस्ता औंलामा गन्न सकिने ठूला र उच्च प्रविधि भएका कम्पनीले मात्र यस्तो प्रमाणपत्र पाएका छन्।
'यो प्रमाणपत्रले हामी वातावरणमैत्री र हरित भएको प्रमाण दिएको छ। उच्च गुणस्तर, पर्यावरणमैत्री सामग्री उत्पादन गर्न पञ्चकन्या स्टिलको समर्पण पनि उजागर गरेको छ,' उनले भने।
भैरहवाबाट उत्पादन भइरहेका पञ्चकन्या स्टिलका ५०० एक्सडी र ५५० एक्सडी छडले दिगो निर्माण सामग्री उत्पादनको नेतृत्व गरेको पनि उनले बताए। यो प्रमाणपत्रले निर्यातमा पनि पञ्चकन्याका छडको विश्वास बढाउने उनले बताए।