सिमेन्ट र डन्डी उत्पादकहरूले पछिल्लो एक महिनामा २५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि गरेको भन्दै नेपाल निर्माण उद्योग परिषदले आपत्ति जनाएको छ।
परिषदका महासचिव रामशरण देउजाले निर्माण कार्यको प्रमुख सिजनमा अकारण अत्यधिक मूल्यवृद्धि गर्नु उत्पादकहरू बीचको मिलेमतो (कार्टेलिङ) भएको आरोप लगाए।
उनले यो मूल्यवृद्धिले भौतिक पूर्वाधारका निर्माण कार्यहरूमा गम्भीर असर पार्ने बताए। रूग्ण अवस्थामा रहेका आयोजना अझै समस्यामा पर्ने भनाइ उनको छ।
सार्वजनिक खरिद नियमावलीको तेह्रौं संशोधनले अन्तिम पटकका लागि थपिएका रूग्ण आयोजना यो मूल्यवृद्धिका कारण थप रूग्ण हुने परिषदले जनाएको छ।
सार्वजनिक खरिद नियमावलीको व्यवस्था अनुसार दररेट समितिले १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएमा सो समायोजन गरी नयाँ दररेट कायम गर्ने व्यवस्था भए पनि कार्यान्वयन नगरिँदा निर्माण व्यवसायीको गुनासो छ।
परिषदले नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएर दररेट निर्धारण समितिको बैठक बोलाउन र मूल्य समायोजन गरी आयोजना निर्माणमा अवरोध हुन नदिन आग्रह गरेको छ।
निर्माण क्षेत्रलाई समस्याबाट बचाउन सरकारले तुरून्त कदम चाल्नुपर्ने माग परिषदको छ।