अर्थमन्त्री विष्णु पौडेलले घरजग्गा व्यवसायलाई धरासायी हुन नदिने बताएका छन्।
शुक्रबार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले सरकारले घरजग्गा व्यवसायलाई धरासायी हुन नदिने बताएका हुन्।
'सबै माग पूरा नहोलान् तर सरकारले यो व्यवसायलाई धरासायी हुन दिँदैन,' उनले भने, 'ढुक्क हुनुहोस्। हामी सकारात्मक छौं।'
उनले सरकारले घरजग्गा व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नीतिगत रूपमा पहल गरिरहेको जानकारी दिए।
अनुमति प्राप्त कम्पनीबाट घरजग्गा व्यवसाय हुनपर्ने, ब्रोकरलाई लाइसेन्सको प्रबन्ध गर्नुपर्ने तथा ल्याण्ड पुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागी गराउन पर्ने लगायतका व्यवसायीका माग प्रति सरकार सकारात्मक रहेको उनले बताए।
सरकारले निजी क्षेत्रको सहभागिता बिना व्यवस्थित बसोबासको कल्पना गर्न नसक्ने उनको भनाइ छ। यो व्यवसायलाई उद्योगको मान्यता दिन सरकार सकारात्मक रहेको पनि उनले बताए।
घरजग्गा व्यवसाय सम्मानजनक व्यवसाय भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बताए।
'खाना, नाना र छाना मानिसको मुख्य आवश्यकता हो। सरकारले जनतालाई बासको व्यवस्था गरिदिनै पर्छ,' उनले भने।
घरजग्गा व्यवसायमा रहेका समस्याहरू आपसमा छलफल गरी समाधान गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
व्यवस्थित सहरीकरणका लागि घरजग्गा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए।
घरजग्गा व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न महासंघकाले वकालत गरिरहेको उनको भनाइ छ।