नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
प्रचलित कानुन, गुणस्तर र लागतमा अब्बल हुँदाहुँदै पनि आफूहरूको प्रस्ताव अस्वीकार गरि प्रतिष्पर्धीलाई छनौट गरेको भन्दै मोबिलन ट्रेड इन्टरनेशनल, ग्रीन आइटी सोलुसन र इन्फ्रा डाटा एनभीको संयुक्त भेन्चरले बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता दर्ता गराएका हुन्।
प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जडान र सञ्चालन (एमडीएमएस) प्रणालीसम्बन्धी परियोजना सन्चालनका लागि पोहोर वैशाखमा टेन्डर गरेको थियो।
एमडीएमएस प्रणाली लागू भएपछि हराएको र अवैधानिक मोबाइलको सिस्टम ब्लक गर्न सकिन्छ।
प्राधिकरणले परियोजना सञ्चालन गर्न न्युमेरा एमएसडीएन, बीएचडी, मलेसिया, ओएसआइ कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुरको संयुक्त भेन्चर कम्पनीलाई छनोट गरेपछि प्रतिष्पर्धी कम्पनीको संयुक्त भेन्चरले उजुरी हालेको हो।
यीमध्ये नमस्ते ग्लोबल कम्पनीले कल बाइपासको काम गर्छ, जुन नेपालमा अवैधानिक छ। यस्तै न्युमेरा कम्पनीलाई मलेसियामा डाटा लिक गरेको आरोपमा मुद्दा चलिरहेको छ।
प्राधिकरणले यी कम्पनीलाई छान्नु सार्वजनिक खरिद ऐन २०६३ को दफा ३५ (१) विपरीत रहेको उजुरीमा उल्लेख छ।
सार्वजनिक खरिद ऐनको सो दफामा प्रस्तावको छनोट गर्न गुणस्तर र लागत विधि अपनाइएकोमा प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावदातालाई छनौट गर्ने उल्लेख छ।
तर प्राधिकरणले छनोट गर्दा प्राविधिक र आर्थिक मूल्यांकनमा बढी अंक ल्याउने कम्पनीलाई बाइपास गरेर यी कम्पनीहरूलाई छनोट गरेको हो। प्राविधिक मूल्यांकनमा मोबिलन ट्रेड इन्टरनेशनल, ग्रीन आइटी सोलुसन, इन्फ्रा डाटा एनभिको संयुक्त भेन्चरले ७ सय १८ र न्युमेरा एमएसडीएन, बीएचडी.मलेसिया, ओएसआइ कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुरको संयुक्त भेन्चरले ७ सय १० अंक प्राप्त गरेका थिए। यस्तै आर्थिक मूल्यांकनमा पनि छनौट भएको कम्पनीभन्दा प्रतिष्पर्धी कम्पनीको जोइन्ट भेन्चरको लागत रकम झन्डै साढे ४ लाख अमेरिकी डलरले कम थियो।
प्राधिकरणको वेवसाइटमा प्रकाशित सूचनामा छनौटमा परेको कम्पनीले ७० लाख ६६ हजार अमेरिकी डलरमा काम सम्पन्न गर्नुपर्नेछ।
जबकी प्राधिकरणले आह्वान गरेको टेन्डर प्रक्रियामा सहभागी भएर छनोटमा परेका कम्पनीमध्ये सो कम्पनीले ७४ लाख ९९ हजार ८ सय ८८ अमेरिकी डलर र प्रतिष्पर्धी कम्पनीले ७० लाख ७१ हजार २ सय ५ अमेरिकी डलरको आर्थिक मूल्यांकन पेश गरेका थिए।