तपाईं व्यवसायिक वा व्यक्तिगत कामले चेक डिपोजिट गर्न बैंक पक्कै जानुभएको होला। त्यहाँ चेक डिपोजिट फारम भनेको याद छ? टोकन लिएर आफ्नो पालो कुरेको नि?
तु गएर, तु काम सकियोस् भन्ने चाहना हामी सबैलाई होला।
यिनै समस्या मध्यनजर गर्दै इञ्जिनियर युवराज थापाले नेपालमै पहिलोपटक चेक डिपोजिट गर्ने मेसिन बनाएका छन्।
'बैंकमा चेक डिपोजिट प्रक्रिया सहज होस् भन्ने उद्देश्यले मैले यस्तो मेसिन बनाएको हुँ,' इञ्जिनियर युवराज थापाले सेतोपाटीसँग भने, 'यो अटोमेटेड मेसिनको सहायताले हामीले केही क्लिकमै चेक डिपोजिट गर्न सक्छौं।'
थापाका अनुसार यो मेसिन बनाउन उनलाई चौध महिना लाग्यो। उनले पहिलो चार महिनामै मेसिन बनाइसकेका थिए। तर बाँकी समय मेसिन परीक्षणमा खर्चिए। मेसिन बनाउन चाहिने सबै सामान नेपालमा नपाउँदा सास्ती भएको पनि उनी बताउँछन्।
'मेसिनलाई चाहिने स-सानो नट-बोल्टहरू नेपालमा नपाएपछि विदेशबाट महँगोमा मगाएँ,' इञ्जिनियर थापाले भने, 'कम्तीमा पाँच वर्षसम्म टिक्ने गुणस्तरीय मेसिन बनाउन व्यक्तिगत खर्च गरेरै भए पनि बनाएको हुँ।'
उनीसँग विगत लामो समयदेखि बैंक र सफ्टवेयर कम्पनीमा काम गरेको अनुभव छ। त्यो अनुभव र सीप यो मेसिन बनाउँदा भरपुर प्रयोग गरेको उनको बताए।
'सानैदेखि प्रविधिमा रूचि थियो मलाई। साथीहरूले त खत्र्याकखुत्रुक मिस्त्री भनेर बोलाउँथे। म पछिल्लो २५ वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको छु,' उनले भने, 'यो मेसिनमा नयाँ प्रविधि प्रयोग भएको छ।'
दोस्रो लकडाउनको समय सदुपयोग गरी आफैं सिकेर यो मेसिन बनाएको उनको भनाइ छ। उनका अनुसार यस मेसिनमा सेन्सर सिस्टम जडित छ। मेसिनको वरिपरि कोही मानिस नभएको खण्डमा मेसिन आफैं लो-पावर मोडमा जान्छ।
'६ मिटर दुरीभित्रमा कोही मानिस भएको थाहा पाए मेसिन आफैं चल्छ,' थापाले भने, 'वरिपरि कोही नभएको अवस्थामा दस मिनेटपछि आफैं बन्द हुन्छ जसले गर्दा अनावश्यक बिजुली खपत हुन पाउँदैन।'
मेसिनलाई प्रयोगकर्तामैत्री बनाउन स-साना कुरामा ध्यान दिएको पनि उनले बताए।
उनका अनुसार अहिले यसको प्रोटोटाइप मात्र बनेको छ। यसको उपयोगिता जाँचेर बैंकहरूले माग गरे भने ठूलो मात्रामा उत्पादन गर्न सकिने उनको भनाइ छ।
'माग भयो भने यसलाई पाँच लाख भन्दा कम रकममा नेपालमै उत्पादन गरी बिक्री गर्न सकिन्छ,' थापाले भने।
अहिलेको प्रोटोटाइप मेसिनमा चेक डिपोजिट मात्र गर्न मिले पनि भविष्यमा यसबाट पैसा डिपोजिट, चेक प्रिन्टिङ, भुक्तानी गर्न मिल्ने सुविधा थप्ने उनको योजना छ।
'ग्राहकले बैंक शाखामा गएर गर्न मिल्ने सबै किसिमका काम यो मेसिनबाट गर्न मिल्ने बनाउन सकिन्छ,' उनी भन्छन्, 'अहिलेलाई यो मेसिनले कुनै पनि बैंकको चेकलाई आफैं स्क्यान गरेर डिपोजिट गर्छ।'
प्रोटोटाइप मेसिनबाट चेक डिपोजिट गर्न तीन क्लिक गरे पुग्छ।
पहिला आफ्नो बैंकको अकाउन्ट नम्बर टाइप गर्ने।
अनि प्रयोग गरिरहेको फोन नम्बर र डिपोजिट गर्न चाहेको रकम राख्ने र स्क्यान थिच्ने।
अन्त्यमा मेसिनले प्रक्रिया पूरा गरेपछि बैकिङ स्लिप लिने।
'मेसिनले चेकको एमआइसिआर कोड पढ्छ र कुन बैंकको चेक हो भनेर प्रोसेस गर्छ,' थापाले मेसिन देखाउँदै भने, 'यदि केरमेट गरेको भेटेमा मेसिनले चेक रिड गर्दैन र बाहिर फिर्ता पठाइदिन्छ।'
डिपोजिट भएका चेकहरू बैंकका कर्मचारी आएर लान सक्छन्। यो मेसिनको प्रयोग गरेर बैंक र सेवाग्राही दुवैको धेरै समय बचत हुने उनले बताए।
यसअघि पनि उनले घरेलु प्रयोजनका लागि ट्यांकीमा पानी चढाउने स्वचालित मेसिन, होम आइओटी, मनी कलेक्टिङ मेसिन लगायत बनाइसकेका छन्।
नयाँ र प्रविधिमैत्री आविष्कार गर्न रूचि राख्ने थापाको यो चेक डिपोजिट मेसिन नेपालका गाउँठाउँमा पुगिदियोस् भन्ने ठूलो सपना छ।
'मेरो उद्देश्य भनेको यसलाई सुलभ दरमा गाउँठाउँ पुर्याएर सेवा दिनु हो,' थापा भन्छन्, 'हामीले चाह्यौं भने नेपालमै धेरै राम्रो मेसिन उत्पादन गर्न सक्छौं। र नयाँ टेक्निकल हब बनाउन सक्छौं।'