विगत पाँच दिनदेखि स्वदेश तथा विदेशी नियोगहरूमा राहदानी सेवा प्रभावित बनेको छ।
राहदानी विभागबाट सोमबारदेखि सेवा सुरू भए पनि स्वदेशदेखि विदेशसम्म सम्पूर्ण रूपमा पूर्ववत रूपमा सेवा दिन अझै दुई साता लाग्नेछ।
राहदानी आवेदन इन्ट्री गर्ने कम्प्युटरहरूमा भाइरस देखा परेपछि गत बुधबारदेखि राहदानी सेवा प्रभावित बनेको थियो। विभागका महानिर्देशक तीर्थराज अर्यालले दुई दिनमात्रै पूर्ण रूपमा सेवा अवरूद्ध भएको बताए।
महानिर्देशक अर्यालसँग सेतोपाटीले राहदानी वितरण लगायतमा देखा परेका समस्यालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश;
राहदानी सेवा अवरूद्ध भएको लामो समय भइसक्यो, आवेदन प्रणालीमा समस्या आएको भनिएको रहेछ, के समस्या हो?
लामो समय त होइन, दुई दिन राहदानी सेवा अवरूद्ध भएको हो। राहदानी सेवा प्रदान गर्ने केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको भन्ने सूचनाका आधारमा यसलाई सावधानीस्वरूप केन्द्रीय डाटा बैंकबाट विच्छेद गर्न परेको हो। अहिले पनि केही नियोगहरूमा केन्द्रसँग नजोडिकन पनि कामहरू गर्दैछौं। सुरक्षा विश्लेषण गर्दै सुरक्षित रूपमा खोल्दै जानु परेकोले राहदानी सेवा केही समय प्रभावित भएको हो, सावधानीस्वरूप नै बन्द गरिएको हो।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकोले सेवा अवरूद्ध भयो भन्ने यहाँहरूको भनाइ रहेछ, यो भनेको के हो, बुझ्ने गरी बताइदिनुस् त
हरेक कम्प्युटरहरू राहदानी प्रणालीसँग जोडिएको हुन्छ, इन्टरनेटको माध्यमबाट एकआपसमा डाटाहरू ट्रान्सफर गर्ने हुन्छ। जस्तै डाटा केन्द्रमा ल्याउने र ती डाटा स्थानीयस्तरमा लैजाने अन्तरआबद्धता हुन्छ। राहदानी विभागभन्दा बाहिर आवेदन गर्ने ठाउँमा तीन किसिमका कम्प्युटरहरू हुन्छन्- रूजु गर्ने, फोटो खिच्ने र अर्को प्रमाणीकरण गर्ने।
यी तीन किसिमका प्रणालीहरूमध्ये आवेदकको आवेदन रुजु गर्ने केही कम्प्युटरमा भाइरस देखियो। त्यसले दोस्रो र तेस्रो लेयरमा पनि भाइरस छिर्ने जोखिम हुन सक्ने भएकोले सावधानी अपनाउन राहदानी सेवा रोकेको हो।
स्वदेशदेखि विदेशसम्म नेपाली नागरिकले राहदानी सेवा लिन पाएका छैनन्, अत्यावश्यक सेवामा हेलचक्रयाइँ गरियो भन्ने पनि छ, कहिलेदेखि सेवाग्राहीले पासपोर्ट पाउँछन्?
हेलचक्रयाइँ गरियो भन्ने होइन। जुन दिनदेखि समस्या देखा पर्यो त्यही दिनदेखि निरन्तर प्रयास गर्यौं। समस्या देखियो भनेर बुधबार बेलुकी खबर आएको थियो। बिहीबार र शुक्रबार हामी निरन्तर समस्या समाधानमा लाग्यौं। शनिबारसम्म पनि काम गरेर आइतबारबाट सेवा सुरू गरियो। तीन दिनमा हामीले सबै कम्प्युटरहरूलाई स्क्यान गरेर रेडी गर्यौं। यसमा कुनै सुरक्षा थ्रेट छैन भनेर काम सुरू गर्नु भनेको हेलचक्रयाइँ होइन।
स्थानीय स्तरमा पनि सेवा चलिराखेको छ, विदेशी नियोगहरूमा अहिले स्थानीय रूपमा फोटो खिचिराख्नु भएको छ। केन्द्रसँग सम्पर्क मात्र नभएको हो। केन्द्रमा पनि दुई दिनमात्रै पासपोर्ट छाप्न नसकेको हो।
बिहीबार र आइतबार पनि पहिलेका आवेदकका आवेदनअनुसार पासपोर्ट दियौं। जिल्लाबाट भरेका फारमअनुसार राहदानी तयार भइरहेका छन्। विभागमा पनि हिजो आवेदन दिनेहरूले आज पासपोर्ट लगिसक्नु भएको छ, सेवा नियमित रूपमा फर्किसकेको छ। सबै साधन स्रोत र क्षमता लगाएर काम गरेका छौं।
अन्तिममा, पूर्ण रूपमा राहदानी सेवा सञ्चालनमा आउन कति समय लाग्छ?
नेपालभर र सबै विदेशी नियोगमा पूर्ण रूपमा सेवा सञ्चालनमा आउन केही समय लाग्छ। विभागबाट राहदानी दिने काम सुचारू भइसक्यो। विदेशी नियोगहरूमा फारम भर्न नसकेको हो, आवेदन लिनेजस्ता आंशिक काम भइरहेका छन्।
अब कसरी अघि जाने भनेर साइबर सेक्युरिटी टोलीले आज बेलुकीसम्म योजना बनाइसक्ने, भोलि परीक्षण गर्ने र पर्सीदेखि कार्यान्वयन गर्दै जाने भन्ने छ।
यो योजनाअनुसार भयो भने एकदेखि दुई सातामा पूर्ण रूपमा सेवा सञ्चालनमा आउँछ, अवरोध आयो भने केही समय लाग्छ। एकैचोटी संसारभर खोल्न गाह्रो छ। केही स्टेशनहरूमा बिहीबारसम्म सुरू गर्छौं।
अडिओ: