एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि सुन पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ।
व्यवसायीहरूका अनुसार हिजो सोमबार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो। अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्।
करिब एक महिना अघि मात्र स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७१ हजारसम्म पुगेको थियो।
आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ।
नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक उच्च दरले भाउ घटेको हो।
सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ र मंगलबार प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको हो।