सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेको छ।
तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको थियो।
आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्य वृद्धिले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
त्यसयता मूल्य घट्दो क्रममा रहेको छ। कतिपय अन्तर्राष्ट्रिय बैंक (सिटि बैंक)हरूले अल्पकालको लागि सुनको मूल्य प्रतिऔंस ३ हजार डलरसम्म आउन सक्ने प्रक्षेपण गरेका छन्। तर, दीर्घकालमा भने सुनको मूल्य प्रतिऔंस ५ हजार डलरसम्म पुग्ने विश्लेषण पनि उनीहरूले गरेका छन्।
यो सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,०८० डलरमा कारोबार भइरहेको छ।
सोमबार चाँदी पनि तोलामा ३५ रूपैयाँले घटेर दुई हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ।