काठमाडौंमा रहेको शहीद गंगालाल हृदय रोग केन्द्रले जनकपुरधाममा शाखा विस्तार गरेको छ।
काठमाडौंबाहिर पनि हृदय रोगको उपचार सहज रूपमा होस् भनेर शाखा विस्तार गरिएको हो।
जनकपुर अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शाखाको उदघाटन गरे। उपप्रधानमन्त्री यादवले जनकपुरधाममा बन्न लागेको हृदयरोग केन्द्र अस्पताल निकट भविष्यमै अत्याधुनिक सुविधासम्पन्न अस्पताल बन्ने विश्वास व्यक्त गरे।
प्रदेश २ मा शिक्षा र स्वास्थ्यको अवस्था खराब रहेका बेला हृदयरोग केन्द्र खुल्नु सुखद रहेको उनले बताए।
यादवले प्रदेशमा कुपोषण, बाल मृत्युदर, मातृ मृत्युदर, नसर्ने रोगको रोगीहरू संख्या धेरै हुनुमा प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था राम्रो नहुनु नै कारण रहेको बताए।
‘प्रदेशमा अस्पतालमात्रै खोलेर हुँदैन, स्थानीयवासीले आफ्नो आचरण र खानपिनमा समेत सुधार ल्याउनु पर्छ,’ उनले भने।
यादवले जनकपुरधाममा निकट भविष्यमै मेट्रिनी अस्पतालको निर्माण गरिने घोषणा समेत गरे। यसका लागि सरकारले १ अर्ब २५ करोड रुपैयाँ छुट्याइसकेको र जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए।
अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उनको प्रतिवद्धता छ।
प्रदेशमा चिकित्सकहरुको अभाव रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दरबन्दी खडा गरेर पनि चिकित्सकको अभाव हुन नदिने दाबी गरे।
२०५२ सालमा स्थापना भएको शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र मुटु रोगको उपचार हुने पहिलो सरकारी अस्पताल हो।