भारतबाट खरिद गर्ने बिजुलीको मूल्य तत्काल नबढ्ने भएकाे छ। विद्युत आयात गर्न भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभिएन) सँग भएको सम्झाैताको अवधि सकिन लागेसँगै नवीकरण गर्दा मूल्य बढ्ने आकलन गरिएको थियो।
यही पुस १६ मा सकिने सम्झाैता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली गएको थियो।
दिल्लीमा एनभिभिएन लगायतका भारतीय अधिकारीसँगको छलफलबाट पुरानै सम्झाैतालाई तीन महिना थप गर्ने सहमति भएकाे घिसिङले जानकारी दिए।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली दिल्ली गएकाे थियाे।
एनभिभिएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल गर्ने तयारीका साथ नेपाली टाेली गएको थियो।
तर भारतीय पक्ष तीन महिना सम्झाैता थप गर्ने नविकरणको लाग थप छलफल गर्न सहमत भएको घिसिङले जनाए। ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदैछ ।
ढल्केबर—मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ। भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा लोडसेडिङ हुने आशंका बढेको थियाे। उक्त खतरा पनि तत्कालका लागि टरेको छ।