सोमबार बिहानै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल नेतृत्वको टोली कालीमाटी फलफूल तथा तरकारी बजारको छड्के अनुगमनमा निस्कियो।
अनुगमनका क्रममा खनालले झिंगा भन्किरहेको तथा कैयौं दिनदेखिको बासी माछा बेच्न राखिएको देखेर आश्चर्य मानेका थिए।
‘आम्मै! यहाँ त यति दुर्गन्धित माछा विक्रीमा राखिने रहेछ। यस्तोमा तपाईंहरू के हेरेर बस्नु भएको छ?’, मन्त्रीले कालीमाटी बजार विकास समितिका अधिकारीहरूसँग भने, ‘तत्काल यस अवस्थाको सुधार गर्नुहोस्।’
खनालले समिति प्रतिनिधिहरूसँग आक्रोश पोखिरहँदा कालीमाटी परिसरमा बेच्न राखिएको माछामा व्यापारीहरू मन्त्रीको कुरा सुन्दै झिंगा धपाउनमा व्यस्त देखिन्थे भने पसलको वरिपरि हिलो र पानी जमेको थियो।
खनालले यसरी अव्यवस्थित रूपमा बेच्न राखिएका माछाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको भन्दै विक्री कक्ष तत्काल सुधार गर्न तथा माछा खानयोग्य भएका नभएको जाँच गर्न निर्देशन दिए।
त्यस्तै, तरकारी विक्री गर्ने शैली समेत अस्वस्थकर तथा अव्यवस्थित भएको भन्दै कार्यविधि बनाएर सुधार गर्ने खनालले भने।
‘अब हामी निर्देशिका बनाउँछौ। त्यसमार्फत् हरेक पसललाई सफाइ मापदण्ड र ग्रेडिङ गरेर राख्छौं। हालको बजार अवस्था स्वस्थ्यकर र उपभोक्तामैत्री छैन’, खनालले भने।
त्यस्तै, अनुगमनका क्रममा कालीमाटी तरकारी बजारभित्रको स्टल तथा सटर भाडामा बिचौलियकारण मनपरी गरिएको पाइएको छ।
बजारभित्र विभिन्न समितिको नाममा स्टल तथा पसलहरूबाट ७ हजारदेखि २ लाखसम्म भाडा उठाउने गरिएको पाइएको छ।
‘एकै हाताभित्र कसैलाई ७ हजार त कसैलाई २ लाख रुपैयाँ प्रति महिना भाडा लिइँदो रहेछ। कारण वा बहाना जे सुकै होस्, यो सरकारलाई असह्य हुन्छ’, खनालले भने, ‘यो भाडादरमा मनपरी पनि अब हट्छ।’
त्यस्तै एकपटक व्यवसाय गर्ने टेण्डर पाएका व्यापारीलाई १५ वर्षसम्म निर्वाधरूपमा व्यवसाय गर्न दिने व्यवस्था समेत खारेज गरिने खनालले दाबी गरे।