दाङको विमान सेवा फेरि पनि अनिश्चित भएको छ। दाङमा केही महिनादेखि हप्तामा एकदिन आइतबार मात्रै समिट एयरले सेवा दिँदै आएको थियो।
जेठ १३ गते र २० गतेका दुबै उडान समिटले रद्द गरेपछि अब फेरी दाङमा प्लेन आउने संभावना लगभग समाप्त भएको सरोकारवालाहरुले बताएका छन्। इन्धनको मूल्य बृद्धिसँगै विमान सञ्चालक कम्पनीले आफुखुसी भाडा बढाएर झन्डै दश हजार पुर्याएपछि विमान सेवा अनिश्चित बन्न पुगेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए।
सहमति विपरित जेठ १३ गतेदेखि समिट एयरले एक पक्षीय रुपमा सात हजार दुईसय बाट भाडा बढाएर नौ हजार आठ सय ८० पु¥याएपछि विमान आउन छोडेको खरेलले बताए।
‘विमान आउन छोड्नुको कारण विमान कम्पनीको बेईमानी हो,’ सूचना अधिकारी खरेलले भने ‘हाम्रो सहमति भन्दा बाहिर गएर छलफल नै नगरी एक पक्षीय रुपमा भाडा बढाइएको थियो।’
उपमहानगरपालिका र समिट एयर सञ्चालकका बीचमा गत पुसमा भएको सम्झौंता अनुसार छ हजार आठ सय भाडा निर्धारण गरिएको छ। केही समयको उडान पछि विमान सञ्चालक कम्पनीले भाडा बढाएर सात हजार दुई सय पुर्याउन दबाब दिएको थियो।
तर पछिल्लो समय उक्त सम्झौता पनि भंग गर्दै एयरले विमान सेवा बन्द गर्ने उद्देश्यले भाडा बढाएको हुन सक्ने खरेलले बताए।
२०७४ साल पुस १९ गतेदेखि दाङमा सेवा सुरु गरेको समिटले सुरुमा हप्ताको दुई दिन आइतबार र बुधवार उडान गर्दै आएको भएपनि पछिल्लो समय हप्तामा एक दिन आइतबार मात्रै उडान भर्दै आएको थियो। यो ६ महिनाको अवधिमा पाँच पटक विमानले विभिन्न कारण देखाउँदै उडान रद्द गरेको खरेलले बताए।
जेठ १३ गते एकाएक भाडा बढाइएको जानकारी दिँदै विमान कम्पनीले पुरानो भाडा दरमा आउन नसक्ने भन्दै उडान रद्द गर्ने निर्णय सुनाएको टिकेट बुकिङको जिम्मेवारी समेत सम्हाल्दै आएका खरेलको भनाइ छ।
‘यात्रुमा विमानप्रति विश्वसनियता हराउँदै गएको छ, टिकट काटेकाहरुले पनि विमान आउदैन कि भन्ने आशंका गर्दै क्रस फोन गर्छन्’ सूचना अधिकारी खरेलले भने।
समिटलाई छोडेर अन्य धेरै विमान भएका सेवा प्रदायक संस्थाहरुसँग छलफल गर्न आवश्यक रहेको उनले बताए। पाँचहजार देखि छ हजार पाँच सयसम्म भाडा कायम गर्न सकेको खण्डमा मात्रै विमान सेवाले निरन्तरता पाउन सक्ने उनको भनाइ छ। तुलसीपुरका मेयर घनश्याम पाण्डे पनि यसमा सहमत छन्। ‘भाडा बढेपछि विमान चढ्न सक्ने अवस्था रहेन, यात्रु कम हुँदा पनि समस्या भएको हो’ मेयर पाण्डेले भने।
विमान सेवा औपचारिक रुपमै बन्द भने नभएको उनको भनाइ छ। उनले विमान संचालनसम्वन्धमा अन्य कम्पनीहरुसँग आफुले कुरा गरिरहेको बताए ।
दाङमा प्लेनको राजनीति
दाङको एक मात्रै विमानस्थल तुलसीपुरको टरिगाउँ एयरपोर्टमा विक्रम संवत २०१२ सालदेखि विमान सेवा सुरु भएको हो। यो घाँसे विमान स्थलमा माओवादीको युद्ध सुरु हुनुपूर्व सम्म लगभग नियमित रुपमा नेपाल वायु सेवाले उडान भर्दै आएको थियो।
यद्यपी २०४६ सालमा प्रजातन्त्र आउँदा पनि केही समय सेवा अवरुद्ध भएको थियो। तर पछिल्लो समय टरिगाउँ एयरपोर्टको धावन मार्ग कालोपत्रे भएपछि निजी कम्पनीका साना खाले (१९ सिट क्षमताका) विमान मात्रै आउन थाले।
विमान कालोपत्रे भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले जनप्रतिनिधि विहिन अवस्थामा टिकेटको जिम्मा लिएरै भएपनि एकआध बर्ष विमान सेवा सञ्चालन गरेको थियो। तर २०७२ साल चैत २ गतेदेखि दाङमा विमान आउन छोडेको तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजालले बताए।
चुनाव जितेका मेयर पाण्डेको पनि प्रमुख चुनावी नारा दाङमा विमान ल्याउनु थियो। उनले दशैं अगाडि नै तुलसीपुरको टरिगाउँ एयरपोर्टमा प्लेन उडाउने कुरा गरे। असोजमा विमान ल्याउन नसक्दा उनको व्यापक आलोचना भयो। उनले क्षणिक रुपमा त्यो वाचा पुरा गर्नकै लागि भएपनि पुसमा विमान ल्याउन सबै विकल्प अपनाए।
पुसमा विमान आउँदा एयरपोर्टमा बाजागाजा सहित भव्य स्वागत गरियो। उक्त दिन विमानमा आएका संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अबदेखि दाङको विमान सेवा कहिलै बन्द हुन नदिने प्रतिवद्धता जनाए।
जवसम्म तुलसीपुरमा इन्धन डिपो स्थापना हुँदैन वा नेपाल वायु सेवाको विमान आउँदैन तवसम्म दाङमा विमान सेवा नियमित हुन नसक्ने रिजालको धारणा छ।