नेपाल आयल निगममा नयाँ नेतृत्वको चयन खुला प्रतिस्पर्धाबाट गरिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निगमको नयाँ नेतृत्व चयन खुला प्रतिस्पर्धामार्फत् गरिने बताएका हुन्।
जग्गा खरिद प्रक्रियामा विवादित बनेका गोपालबहादुर खड्काले बिहिबार यादवसमक्ष राजीनामा बुझाएपछि यादवको सो भनाइ आएको हो। यादवले सो पदमा राजनीतिक नियुक्ति नगरिने बताएका हुन्।
‘खड्का आफैंले राजीनामा दिएर वातावरण सहज बनाइदिनुभएको छ। अब निगममा खुला प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्छौं’, खड्काले राजीनामा बुझाएको विषयमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै यादवले भने।
जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीबार बिहान उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरी राजिनामा दिएको जनाएका थिए।
विगत ९ महिनादेखि आफूलाई भूमिकाविहीन बनाएर राखिएको तथा बद्नाम बनाउने खेल चौतर्फी हुन थालेको दाबी गर्दै उनले राजीनामा दिएको बताएका थिए।
‘मैले निगममा धेरै नीतिगत सुधार समेत गरेको थिएँ तर त्यसलाई छायाँमा पार्ने र बद्नाम गर्ने कार्य मात्र गरियो’, खड्काले भने, ‘९ महिनामा त सन्तान पनि जन्मन्छ। तर मलाई यत्तिका अवधिसम्म भूमिकाविहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’
खड्काले आफूले प्रधानमन्त्री र उद्योगमन्त्रीका लागि राजीनामा दिएको प्रतिक्रिया दिएका थिए।
खड्कालाई निगममा हुँदा इन्धन भण्डारण क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ।
तत्कालीन संसदीय समितिहरूले जग्गा खरिद गरिएको झापा, चितवन लगायतका क्षेत्रको स्थलगत अध्ययन गरी खड्काकै निर्देशनमा चल्तीको भाउभन्दा चार गुणा महंगो रकममा जग्गा खरिद गरेर व्यापक भ्रष्टाचार भएको निश्कर्ष निकालेको थियो।
समितिको सो निश्कर्षपश्चात सरकारले उनलाई बर्खास्त गरेको थियो। सरकारको सो कदमपश्चात खड्का सर्वोच्च अदालत गएका थिए।
सर्वोच्चले सरकारको सो निर्णय उल्टाइदिएपछि खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको थियो। यद्यपी उनलाई कुनै कार्यकारी भूमिका दिइएको थिएन।
हाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईले सम्हाल्दै आएका छन्।