सर्लाहीकी नित्या कार्की गत मंगलबार दिउँसो १ः४५ बजे हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९६७८ मार्फत बंगलादेश ढाका पुगिन्। मेडिकल विद्यार्थी नित्या ढाका पुगेको पहिलो पटक होइन। विगत छ वर्षदेखि उनी नेपाल आउने-जाने गरिरहेकी छन्।
जहाज अवतरण भयो। उनी जहाजबाट ओर्लेर डलर सटही गर्ने ठाउँमा पुगिन्। त्यहाँ पुगेर आफ्नो झोला हेर्दा च्यातिएजस्तो देखिन्। त्यसपछि झोला बिसाएर खोतलिन्।
झोलामा उनले मिलाएर राखेका सामग्री भताभुंग अवस्थामा थिए। रकम राखेको खाम खोतलिन्। त्यो पनि खाली भेटियो। यो सबै देखेर उनी झसंग भइन्।
'लगेजको अवस्था देखेर म तर्सिएँ। मैले त्यहाँ खाममा आठ सय अमेरिकी डलर राखेकी थिएँ। च्यातिएको अवस्थामा खाली खाम मात्रै भेटियो,' नित्याले सेतोपाटीसँग भनिन्, 'बंगलादेशको पैसा (टाँका) पनि पैँतीस सय जति थियो। त्यो चाहिँ जस्ताको तस्तै रहेछ। अरू खानेकुरा र मेरो वानप्लस फोनको चार्जरसमेत चोरिएको रहेछ।'
त्यसपछि यो कुरा उनले साथीहरूलाई सुनाइन्। तत्कालै साथीहरू र उनी त्यहाँ प्रहरीमा पुगे। विमानस्थलमा खटिएका प्रहरीले उनीहरूलाई सिसिटिभी फुजेट देखाए। त्यहाँको सिसिटिभी फुजेटमा झोला पहिले नै च्यातिएको अवस्थामा देखियो।
'नेपालकै विमानस्थलमा चोरी भएको हुनुपर्छ। तत्काल खबर गरिहाल्नुस्,' त्यहाँका प्रहरीले उनलाई भने।
नित्याले तत्कालै हिमालयन एयरलाइन्सलाई फोन गरिन्। तर कार्यालय बन्द भइसकेकाले भोलिपल्ट फोन गर्न भनियो।
भोलिपल्ट लगेज नम्बर एच ९४६४०११ च्यातिएको तथा भित्रको रकमसहित अन्य सामग्री हराएको समस्या बोकेर नित्याका दाजु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। त्यहाँ हिमालयन एयरलाइन्सको हेल्प डेस्कमा कुरा गरे।
एयरलाइन्सले दुई घन्टा कुराएर सिसिटिभी फुटेज डाउनलोड नभएकाले भोलिपल्ट आउन आग्रह गरेको नित्याले बताइन्।
'बोर्डिङ पास हुँदासम्म लगेज च्यातिएको अवस्थामा नरहेको सिसिटिभी फुटेजमा देखिएको। त्यसपछि सिसिटिभीमा देखिएन भनेर दाइलाई एयरलाइन्सले फर्काएछ। त्यसमाथि लगेजमा पैसा राख्नु नै गल्ती भनेछ। लगेजमा पैसा मात्रै महत्वपूर्ण कुरा होइन हरेक सामान महत्वपूर्ण हुन्छ। यात्रुको सामान लिइसकेपछि सुरक्षाको जिम्मा लिनुपर्छ,' उनले सेतोपाटीसँग भनिन्।
'यस्तो गल्ती त यहाँ भइरहन्छ त्यसमा यात्रु आफैं सचेत हुनुपर्छ' भनेर एयरलाइन्सले यसलाई सामान्य रूपमा लिएर पन्छाउन खोजेको आरोप उनले लगाइन्।
'हामी धेरै पैसा भएर जहाज चढेको होइन। आमाबुबाले दुःख गरेर जुटाएको पैसा मैले छ महिनाका लागि पकेट खर्च भनेर ल्याएको हो। सबै हरायो। मेरो सामान र पैसा एयरलाइन्सले बेहोर्नुपर्छ,' उनले भनिन्।
नेपालबाट ढाकामा कलेज शुल्कका लागि मात्रै रकम पठाउन मिल्ने तर पकेट खर्चका लागि पठाउन सहज नभएका कारण पनि आफू अझ अप्ठ्यारोमा परेको उनको भनाइ छ।
'मसँग धन्न त्यो तीन हजार पाँच सय टाँका (ढाकाको पैसा) थियो र नत्र भने त अरू एक रूपैयाँ पनि छैन। अब छ महिना कसरी खर्च चलाउने भन्ने चिन्ता छ,' उनले भनिन्।
उनको मात्रै होइन उनकै साथी महिमा सिंह ठकुरीको पनि झोलाको ताल्चा फुटाइएको अवस्थामा थियो। तर झोलाभित्र कपडा मात्रै भएकाले चोरी नभएको उनले बताइन्।
'झोला काटेर ह्वाङ्गै पारिएको रहेछ। त्यो बेला याद गरिएन। कोठामा पुगेर हेर्दा लक पनि फुटिरहेको रहेछ,' उनले भनिन्।
साथीको झोलामा नगद नभएकाले चोरी हुनबाट जोगिएको हुन सक्ने नित्या बताउँछिन्।
हिमालयन एयरलाइन्समार्फत ढाका पुगेका अरू विद्यार्थीको लगेजको लक पनि भाँचिएको तथा झोला काटिएको अवस्थामा पाइएको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशले बताएको छ।
एसोसिएसनका अध्यक्ष नवीन यादव यस्ता घटना पटकपटक दोहोरिएको पाइएको बताउँछन्।
'यो लापरबाही जघन्य अपराधजस्तै हो। आवश्यक छानबिन गरी पीडित यात्रु विद्यार्थीको रकम र सामग्री दिलाइदिन आग्रह गर्छु। यदि एयरलाइन्सले यस्तै बेवास्ता गर्ने हो भने हामी बहिस्कार गर्न बाध्य हुने छौं,' यादवले भने।
उनीहरूले यस घटनाका सम्बन्धमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण एवं सम्बन्धित सबै सरोकारवालालाई ध्यानाकर्षण गराएका छन्।
आगामी दिनमा यस्ता घटना नदोहोर्याउन उनीहरूले एयरलाइन्सलाई पनि सचेत गराएका छन्।
हामीले यो घटनाका सम्बन्धमा हिमालयन एयरलाइन्सकी प्रवक्ता उज्वला दलीसँग कुरा गर्यौं। दलीले यो घटनाको विषयमा आफू जानकार नरहेको बताइन्।
'मैले पनि यसमा के भएको हो भनेर सबै कुरा बुझ्नुपर्छ। यसबारे हामीलाई पूरै जानकारी भइसकेको छैन। बुझ्दै छौं, बुझेर हामी खबर गर्छौं,' उनले सेतोपाटीसँग भनिन्।