श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन्।
वैदेशिक रोजगार बोर्डको सचिवालयले आज आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताए।
श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धीमूलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाइने बताए।
अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले बताए।
मन्त्रालयका सल्लाहकार केशव बस्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिममा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए।
उनले पूर्व प्रस्थान अभिमुखीकरण तालिम अहिले प्रभावकारी हुन नसकेको बताए।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानून, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानूनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरूको बारेमा जानकारी दिनुपर्ने बताए।