आगामी वैशाख ७ गते देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने 'आइएमई पे क्यान इन्फोटेक २०२२' को तयारी भइरहेको छ।
६ दिनसम्म संचालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ।
हालै काठमाडौंमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराइएको हो।
सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको यो २७औं संस्करण यसअघि कोभिड-१९ कारण दुई पटक स्थगित भएको थियो। विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो। विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ।
आयोजनाले कोभिड-१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ।
ब्रान्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ।
फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धि उत्पादनहरू छन्।
स्टार्टअप र इनोभेशन खण्डमा २६ वटा स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनहरू र आइडियाको प्रदर्शनी गर्नेछन्। इनोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ।
आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सुचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।
यसबाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रिमा राखिनेछ।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन्।
क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी समेतको व्यवस्था मिलाइएको छ।
यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने बताइएको छ। जसमा प्रवेश शुल्क जम्मा एक रुपैयाँ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ।