भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य घटबढ गरेर पठाएको छ। वैशाख ३ गते नेपाल आयल निगमलाई आइओसीले पेट्रोलमा मूल्य कम भएको र डिजेल तथा हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमले जानकारी दिएको छ।
निगमद्वारा जारी विज्ञप्तिका अनुसार आइओसीले पेट्रोल लिटरमा ४.७९ रूपैयाँ घटाएर पठाएको छ। त्यस्तै डिजेलमा २.०२ रूपैयाँ र हवाई इन्धनमा ०.३८ रूपैयाँ बढेर आएको छ।
भारतले नयाँ मूल्यसूची पठाए पनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्नेबारे अहिलेसम्म निगमले जानकारी दिएको छैन।
यसका बाबजुद निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको विज्ञप्तिमा उल्लेख छ।
आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १८.१६ रूपैयाँ र डिजेलमा ३०.०५ रूपैयाँ घाटा हुने देखिएको छ। हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई नौ सय ५१.४५ रूपैयाँ घाटा हुने निगमले जनाएको छ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको ६.६७ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १६.७६ रूपैयाँ र बाह्यतर्फ ६८.२१ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।