देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरूले बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरूले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी दिए।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए। उनले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, नीतिगत रूपमा भएका सेटिङ्हरू रोक्न र राष्ट्र बैंक माथिको हस्तक्षेप रोक्न आग्रह गरे।
त्यसैगरी, कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताएका छन्। उनले बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने बताए। कृषि क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव छ।
कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए। वैदेशिक कर्जाले सुरू गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रम राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलको पनि उपस्थिति थियो। उनले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए। राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताए।
परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टीभन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए। साथै, उनले राष्ट्रिय पुँजी निर्माण गर्न, छरिएको पुँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाबारेमा प्रस्तुती दिए।