सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छन्।
भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पुल, शहरी एवं यातायात पूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुनेमा उनको जोड छ।
निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वाअवलोकन कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री झाक्रीले एक्सकोनमा नेपालको सहभागीता महत्वपूर्ण हुने बताइन्।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिए। उनले नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने विश्वास दिलाए। अध्यक्ष गोल्छाले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास दिलाए।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो।
भारतले आफ्नो विकासका साथै नेपालको विकासमा पनि सहयोग गर्नुपर्ने उनले बताइन्।
एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एशियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो। यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म चल्नेछ।