पठाओले पर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ। २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन्।
'पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथीहरूले सधैँ हामीलाई हाम्रो परिवार झैं साथ दिनु भएको छ,' हमालले भनिन्, 'उहाँहरूको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौं।'
'सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्याउँ' भन्ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ।
पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम वैशाख १८ गते (मे १) श्रम दिवसको दिन हुने बताइएको छ। यस कार्यक्रमलाई आगमी वर्षहरूमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन्।
सन् २०१८ सेप्टेम्बर २५ तारिखमा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। २०१९ अगस्ट ९ तारिखमा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरू गरेको पठाओले राइड सेयरिङ सुरू गरेको दुई वर्षपछि सन् २०२० सेप्टेम्बर २५ तारिखदेखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै 'पठाओ फुड' सञ्चालनमा ल्याएको छ।