वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति ८ बजेपछिका कुनै पनि उडान भर्न नसक्ने बताएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले प्राविधिक कारणले हाललाई राति ८ बजेपछिका उडान गर्न नसक्ने स्पष्ट पारेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले हाललाई कार्यान्वयन नगर्ने भएका हुन्।
संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ स्लट लागू गर्न पठाएकाे पत्रले ध्यानाकर्षण भएकाे बताउँदै संघले राति ८ बजे पछिका उडान गर्न वायुसेवा कम्पनीहरू असमर्थ रहेकाे बताएकाे हाे।
नयाँ स्लट अनुसार उडान गर्न नसक्ने र त्यसबाट यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले विज्ञप्तिमा भनेको छ- ‘पसं. ०७८ ०७९ डि.डि.जि. २ च.नं. २६२१ मिति २०७१।०१।१४ मा पठाइएको पत्रको सन्दर्भमा संघको ध्यानाकर्षण भएको छ । विविध प्राविधिक कारणले गर्दा हाललाई रात्रि ८ बजे पछिका नियमित तर्फका उडानहरू गर्नसक्ने अवस्था छैन।’
नयाँ स्लट व्यावहारिक नभएको भन्दै यसअनुसार उडान गर्न नसक्ने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। उनले भने, ‘आजसम्म पुरानै स्लटअनुसार सञ्चालन हुन्छन्, भोलिबाट ८ बजेपछिका कुनै पनि उडान चल्ने छैनन्।’
यसैबीच यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले प्राधिकरणले हचुवाका भरमा नियम ल्याएको प्रतिक्रिया दिए।
‘क्यानले जबरजस्ती गर्यो। हामीलाई पनि समय दिएको भए हुन्थ्यो आजको भोलिनै सम्भव हुन्न’, उनले सेतोपाटीसँग भने, ‘सरसल्लाह र समन्वयमा गरेको भए धेरै राम्रो हुन्थ्यो हतार र जबरजस्ती गर्न खोजेकाले हामी तत्काल सेवा दिन सक्दैनौं।’
यस्तै बुद्ध एयरले पनि बिना कुनै अध्ययन रात्रीकालिन उडान सुरू गर्न भनेकोमा तत्काल सम्भव नहुने बताएको छ। ‘हामी अहिले पनि केही स्थानमा रात्रीकालिन उडान गरिरहेका छौं, यात्रु, यातायात व्यवसायी र होटलसँग बिना समन्वय तत्काल लागू गर्न सक्ने अवस्था छैन। यात्रुलाई बिचल्ली पारेर हामीले सेवा दिनु छैन’, बुद्ध एयरले भनेको छ।
प्राधिकरणले बुद्ध एअर, यति एअरलाइन्स, श्री, सौर्य र गुण एअरलाइन्सलाई उनीहरूसँग समन्वय नगरी १४ वैशाखमा नयाँ स्लटअनुसार उडान गर्न पत्र पठाएको थियो।
नेपाल नागरिक उडड्यन प्राधिकरणले आजदेखि तराईका ७ विमानस्थलमा रात्रिकालीन उडान गर्न नयाँ स्लट सार्वजनिक गरेको थियो।
प्राधिकरणले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको छ। यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए।