नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा भएको विद्युत आपूर्ति समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।
औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको महासंघले बताएको छ।
‘मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू बिना पूर्वसूचना दैनिक १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुगेका छन्,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको महासंघले बताएको छ।
लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने अवस्था रहेको उल्लेख गरिएको छ।
विद्युत आपूर्ति अपरझट बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोभन्दै महासंघले आपत्ति जनाएको छ।