नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण दास चौधरीको ‘जन्म-शताब्दी विशेष समारोह’ सम्पन्न भएको छ। आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा उनको जन्म-शताब्दी विशेष समारोह आयोजना गरिएको हो।
बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र श्री लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रुपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्व. लुनकरण दास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा खटिएका ३ जना सहायकहरू, राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङलाई विशेष सम्मान समेत गरिएको थियो।
सो कार्यक्रममा ‘कर्मयोगी लुनकरण दास चौधरी जन्म-शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोरा-छोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रुपमा विमोचन गरे। कार्यक्रममा स्व. चौधरीको जीवन संघर्ष झल्किने १५ मिनेटको भिडिओ सामाग्री समेत प्रस्तुत गरिएको थियो।
भिडिओ सामाग्री तथा पुस्तिकामा लुनकरण दास चौधरीले कसरी चौधरी ग्रुपको आधारशिला तयार गरेका थिए भन्ने चाखलाग्दो विषयलाई समेटिएको छ। ती सामाग्रीमा उल्लेख भएअनुसार वि.सं. १९७९ साल वैशाख ९ गते काठमाडौंको मखनमा जन्मिएका लुकनरणदास २० वर्षको हुँदा उनका बुवा भुरामलको निधन भएको थियो।
त्यसपछि उनले चौधरी परिवारको व्यापार र पारिवारिक दायित्वको बोझ उठाएका थिए। काठमाडौंमा कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको सुरुवात गरे। त्यसपछि दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो।
‘त्यसबेलाका यिनै उद्योगहरूको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैंचा तयार भएको हो,’ सार्वजनिक पुस्तिकामा भनिएको छ, ‘आज यिनै कर्मयोगी लुनकरण दासले रोपेको उद्योग वाणिज्यको बीउ उम्रिँदै, फुल्दै र फल्दै चौधरी ग्रुपमा रुपान्तरण भई नेपालको उद्योग-वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्वित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ।’
कार्यक्रममा बोल्दै कम्पनीका एमडी अग्रवालले स्व. लुनकरणलाई सम्झिँदै उनमा पैसा र प्रशस्त धनसम्पत्ति भएर पनि अहंकार नभएको बताए। स्व. लुनकरण दासलाई नजिकबाट चिन्ने साथीभाइ तथा परिवारका सदस्यहरूले पनि उनको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए।