हाल नेपालमा देखिएको आर्थिक समस्या र श्रीलंकामा देखिएको आर्थिक संकट एउटै नभएपनि शासकीय पाटोमा भने मुलुकमा काम हुन बाँकी रहेको अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए।
काठमाडौंमा आर्थिक पत्रकार समाजले आयोजना गरेको मुलुकको आगामी दिशासम्बन्धी छलफलमा डा. वाग्लेले यस्तो बताएका हुन्।
‘श्रीलंकाको मुख्य समस्या भनेको तिर्न नसक्ने ऋण र पुर्न नसक्ने शोधानान्तर घाटा नै हो,’ डा. वाग्लेले भने, ‘हामी यी आधारमा ठूलो समस्यामा भने छैनौं। तर हाम्रा नेतृत्वहरूमा नीतिगत कच्चापन भने श्रीलंकामा जस्तै छ।’
नेपालमा पछिल्लो समय ठूला पूर्वाधारले मात्रै समृद्धि ल्याउँछ भन्ने धारणा क्रमशः शिथिल भएकोले अन्धाधुन्ध वैदेशीक ऋण लिएर विकास गर्ने योजनाहरूमा कमि आउन सक्नेछ।
‘श्रीलंकाले हामबानटोटा पोर्ट, मट्टाला राजपाक्षे अन्तराष्ट्रिय विमानस्थल जस्ता गलत भौतिक पुर्वाधारको छनोट गर्नु, मूल्य अभिवृद्धि करको दरलाई एकैपटक १५ बाट ८ प्रतिशतमा घटाउनु र कृषि क्षेत्रमा बिना तयारी रासायिनिक मल निरुत्साहित गर्ने जस्ता गलत नीतिले पनि समस्या आएको हो,’ वाग्लेले कार्यक्रममा बोल्दै भने।
सन् २००६ सम्म शून्य प्रतिशत श्रीलंककामो सार्वभौम ऋण त्यसपछि उच्च दरमा बढेको थियो। चिनियाँ ऋणमा हामबानटोटा पोर्ट बनेको भएपनि श्रीलंकाको मुख्य वैदेशीक ऋणमा चीनको हिस्सा भने १० प्रतिशत मात्रै रहेको वाग्लेले स्पष्ट पारे। तर, यी आयोजनाको आवश्यकतामा भन्दा पनि लहडमा बनाइएकोले समस्या आएको उनको निश्कर्ष छ।
मट्टला राजपाक्षे विमानस्थलले दैनिक १० लाख यात्रुहरूको ओसारपसार गराउने अपेक्षा गरिएकोमा सुरूवाती समयमा त्यसमा दैनिक १२ जनामात्र यात्रु आगमन देखिएको थियो। २० करोड ९० लाख अमेरिकी डलरको लागतमा बनेको यो एयरपोर्टमा चीनको १९ करोड डलर ऋण थियो।
अमेरिकी अखबार फोब्रसका अनुसार सन् २०१५ मा सो विमानस्थलको प्रयोग जम्मा २१ हजार यात्रुले गरेका थिए। हाल श्रीलंकाको कुल ऋण त्यहाँको अर्थतन्त्रको (जिडिपी) को एक सय २० प्रतिशतसम्म छ।
वाग्लेले पहिलो चरणमा मुलुकको चालु खाता घाटा (अनुदान, ऋण र प्रत्यक्ष वैदेशीक लगानी नजोडिने र बस्तु तथा सेवाको व्यापार, पर्यटन, रेमिट्यान्स लगायतबाट हुने आम्दानी, खर्चको खाता) देखिने भएपनि दोस्रो चरणमा मुलुकको सम्पत्ति र दायित्व जनाउने क्यापिटल एकाउन्ट (चालु खातामा) समेत समस्या आउन सक्ने बताए।