होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा सेफहरू मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा पुर्याउन नसकिएको बताए।
अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरूचाउने गरेको बताए। वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए।
‘सेफ उत्पादन मनग्य भएको छ। तर काठमाडौंमा सबै केन्द्रित हुनुहुन्छ। काठमाडौं भन्दा बाहिर पनि धेरै ठाउँमा पाँचतारे होटल बनेका छन्। जानुहुन्न’, वरिष्ठ उपाध्यक्ष साहले भने, ‘अर्को कुरा नेपालका जति पनि सिद्धहस्त सेफहरु हुनुहुन्छ उहाँहरुको रोजाइ विदेश हुन्छ। नेपालमा ग्यास्ट्रोेनोमी टुरिजम (खाना पर्यटन) को सम्भावना व्यापक छ।’
त्यस्तै सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए। उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताए।
‘हामीले नेपाली खानालाई देश तथा विदेशमा पुर्याउने भन्ने योजनाका साथ हामीले विभिन्न भाषा, भेषभुषा, कल्चरसहितका खानाहरु पस्किरहेका छौं’, उनले भने, ‘हामी जति पनि सेफ सोसाइटीमा बसेर सेफ सोसाइटीले जे जस्तो गरिरहेको छ यसमा सरकारले पनि ध्यान जाओस् भन्ने हाम्रो माग हो।’
उनले अगाडि भने, ‘नेपाल सरकारको तर्फबाट पनि सेफहरु सबैमा सरकारले बजेट छुट्याएर हामीले सातै प्रदेशका ७७ जिल्लामा हामीलाई नेपाली खानाहरुको बारेमा, नेपाली खानाको हक हीतको बारेमा सहयोग गर्ने हो भने हामी अघि बढ्न सक्छौँ।’
सेफ्स एशोसिएशन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ।