आगामी साताको शुक्रबार आन्तरिक उडान बन्द हुने भएको छ। स्थानीय तहको चुनावको मतदानका दिन (वैशाख ३० गते) सबै आन्तरिक उडान बन्द हुने भएको हो।
सबैभन्दा ठूलो आन्तरिक सेवा प्रदायक बुद्ध एयरले भोट हाल्ने दिन एयरलाइन्सका सबै सेवा बन्द हुने जानकारी दिएको छ।
कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णकाअनुसार यस दिन सार्वजनिक सवारीसाधन सबै बन्द हुने हुँदा यात्रु सहजताका लागि सबै उडान बन्द गरिएको हो।
विगतमा पनि निर्वाचनका दिन सार्वजनिक सवारीसाधन सबै बन्द हुने र नियमित तर्फका उडान बन्द हुने गरेको कर्णले बताए।
यस्तै यति एयर, सौर्य, गुण, श्री एयरलगायत सबै आन्तरिक एयरलाइ्न्ले उक्त दिन उडान नहुने सूचना जारी गरेका छन्।
उडान बन्द हुने भएपछि कम्पनीहरूले वैशाख ३० गतेका दिन टिकट अग्रिम बुकिङ गरेका यात्रुलाई धमाधम सूचना जारी गर्दै रिसेड्युल वा रिफन्ड गरिरहेको छ।