सरोकारवालाहरूले श्रमिकलाई कार्यस्थलबाटै भोट हाल्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
विदेश तथा स्वदेशमा कार्यरत मतदान केन्दमा उपस्थित हुन नसक्ने श्रमिकहरूलाई कार्यस्थलमै भोट हाल्न पाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कानुनविद् निलाम्बर बडालले स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरूले कार्यस्थलबाटै मतदान गर्न पाउने अधिकारको सुनिश्चितता सरकारले गर्नुपर्ने बताए।
'स्याम्पलका रूपमा समानुपातिकबाट भए पनि सुरू गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं। यस पटकको स्थानीय चुनावमा नसके पनि संघीय तथा प्रदेश सरकारको चुनावसम्ममा व्यवस्था गरोस् भन्ने हो,' उनले भने। मतदाता नामावली पनि जो जहाँ छन् त्यहिँबाट हुनुपर्ने उनले बताए।
श्रम विज्ञ रामेश्वर नेपालले बंगलादेश लगायत विश्वका अन्य विभिन्न मुलुकहरूले श्रमिकहरूलाई कार्यस्थलबाट मतदानको अभ्यास गरिसकेकाले नेपाल सरकारले पनि यसमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले कार्यस्थलबाटै मतदान गर्न नपाउँदा धेरै श्रमिक वर्ग मताधिकारबाट बञ्चित हुनु परेको गुनासो गरे।
'अब डिजिटल भोटिङको व्यवस्था गरेर देश तथा विदेशमा कार्यरत श्रमिकहरूलाई कार्यस्थलबाटै भोट दिने व्यवस्था मिलाउनु आवश्यक छ,' उनले भने।
महिला अधिकारकर्मी मञ्जु गुरुङले विदेशमा घरेलु कामदारका रूपमा कार्यरत श्रमिकहरूले आफू काम गरिरहेको घरमै बसेर भोट हाल्न पाउने अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने बताइन्।