चालु आर्थिक वर्षको ९ महिना (चैत) सम्ममा मुलुक भित्रने रेमिट्यान्स गत वर्षको यही अवधिको तुलनामा ४ अर्ब ४७ करोड रूपैयाँले घटेको छ। गत आवमा ७ खर्ब २९ अर्ब रेमिट्यान्स आएकोमा यसपटक यो अवधिसम्ममा ७ खर्ब २४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो।
घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण मुलुकको आम्दानी र खर्च जनाउने शोधानान्तर घाटा ऋणात्मक भइरहेको छ।
गत आवको यही अवधिमा ११ खर्ब ११ अर्ब कुल आयात भएकोमा यस वर्ष सोही अवधिमा १४ खर्ब ६६ अर्बको वस्तु तथा सेवा आयात भएको छ। यो करिब ३२ प्रतिशतले धेरै हो।
मुलुकको निर्यात ६९ प्रतिशतले बढेपनि रकम न्यून छ। नौ महिनामा १ खर्ब ६० अर्ब रूपैयाँको निर्यात भएको छ। हाल मुलुक १३ खर्ब रूपैयाँ व्यापार घाटामा छ। मुलुकको खर्चको तुलनामा आम्दानी बढ्न नसक्दा भुक्तानी सन्तुलन (शोधानान्तर) २ खर्ब ६८ अर्बले ऋणात्मक भएको छ। फागुनसम्म भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब थियो।
विदेशी मुद्राको स्रोत बढ्न नसक्दा र खर्च बढ्दा विदेशी मुद्राको सञ्चिती पनि ह्रास भइरहेको छ। चैतमा १३ खर्ब ९९ अर्ब रूपैयाँ यस्तो सञ्चिती छ। यसले ६ महिना ६ दिनको लागि वस्तु तथा आयात धान्नेछ।
विदेशी मुद्राको स्रोतको रूपमा रहेको प्रत्यक्ष वैदेशीक लगानी ३३ प्रतिशतले बढेर १६ अर्ब रूपैयाँ पुगेको छ। तर, यो पर्याप्त देखिदैन। अनुदानको रूपमा आउने रकम यो अवधिमा ८ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ।
कोभिडका कारण रोकिएको अन्तराष्ट्रिय भ्रमण बढेसँगै मुलुकबाट धेरै रकम विदेशी मुद्राको रूपमा बाहिरिएको छ। यसरी भ्रमणमा हुने खर्च १ सय ३० प्रतिशतले बढेको छ। नेपालीहरूले विदेशको यात्रामै ६१ अर्ब रूपैयाँ खर्चिएका छन्।
त्यस्तै, पर्यटकबाट हुने आम्दानी २ सय ३२ प्रतिशतले बढेर १८ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ। तर, कोभिड पूर्वको अवस्थामा अझै आइसकेको छैन। अघिल्लो आव २०७६-७७ मा यो अवधिमा पर्यटकहरूबाट मुलुकलाई ५६ अर्ब रूपैयाँ आम्दानी भएको थियो।