सौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी 'सौर्य मिथिला लोकचित्रकला प्रतियोगिता २०८०' आयोजना गर्ने भएकाे छ।
यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्नेछन्।
प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुनेछ।
पहिलो चरणमा सहभगी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवम् आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेबसाइटर फेसबुक पेजको क्युआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट एप ९८०२३३५५८५मार्फत पनि पठाउन सकिने कम्पनीको भनाइ छ।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र नगरपालिकामार्फत् बुझाउन मिल्ने सुविधा समेत मिलाइएको छ। फारम बुझाउने अन्तिम मिति मंसिर ८ गतेसम्म रहनेछ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन्।
दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरूले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यानभासमा कोर्नु पर्नेछ। दोस्रो चरणको प्रतियोगिता सौर्य सिमेन्टको आफ्नो उद्योग भित्रनै सञ्चालन हुनेछ।
अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागीहरू चुनिने छन्। यस चरणमा सहभागीहरूले सौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ। उनीहरूले बनाएको चित्रकलाको मूल्यांकन निर्णायक समितिद्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रूपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रूपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रूपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रूपैयाँ उपलब्ध गराइने छ।
यस प्रतियोगितामा सहभागी हुनको लागि कम्पनीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा गई उल्लेखित क्युआर कोडको स्क्यान गरी फारम भर्नुपर्ने हुन्छ।