सेफ नेपालः द प्रोफेसनल्स प्रतियोगिताका लागि हालसम्म १२० प्रोफेसनल सेफले आवेदन दिएका छन्।
आयोजकका अनुसार नेपाल र विदेश दुवै ठाउँमा काम गर्ने सेफहरूले आवेदन दिएका हुन्।
नेपालबाट ३५ वटा होटल, रेस्टुरेन्ट तथा शैक्षिक संस्थामा आबद्ध सेफ तथा विभिन्न देशमा कार्यरत ६५ सेफले आवेदन दिएका छन्। जसमा भारतबाट २४, अस्ट्रेलियाबाट ८, दुबईबाट ६, साउदी अरेबियाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २/२, र स्विडेन, क्यानडा, हङकङ, सेसेलिस, ओमन, क्रोएसिया, साइप्रस लगायत देशहरूमा कार्यरत सेफहरूले आवेदन दिएका छन्।
प्राप्त आवेदनमध्ये २१ आवेदकहरूको प्रमाणीकरण पूरा भइसकेको छ। प्रमाणित आवेदकहरूको जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ।
यो प्रोफेसनल सेफहरूको प्रतिस्पर्धात्मक कुकिङ रियालिटी शो हो। यसमा प्रोफेसनल सेफ मात्रै सहभागी हुन पाउँछन्। कमर्सियल किचनमा पाँच वर्षभन्दा बढी काम गरेकोको अनुभव भएको र डेमी सिडिपीभन्दा माथिल्लो तहका सेफहरूले आवेदन दिन सक्नेछन्।
हालसम्म प्राप्त आवेदनमा दुसित प्रिन्सेस, भिभान्ता, साउदी एयरलाइन्स क्याटरिङ, दुसितथानी माल्दिभ्स, एकेडेमी अफ कलिनरी आर्टस्, सिल्भर माउण्टेन कलेज, मेरियट काठमाडौं, होटल ताज मुम्बई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद, लगायत र अन्य रेस्टुरेन्टहरूमा कार्यरत सेफ छन्।
देश वा विदेशमा रहेका इच्छुक प्रोफेसनल सेफहरूले यस शोमा अझै पनि आवेदन दिने मौका खुला छ।
उनीहरूले सेफ नेपालको वेबसाइटमार्फत रजिष्ट्रेसन दर्ता गर्न सक्छन्। आवेदन दिँदा आफ्नो सम्पूर्ण विवरणका साथ फोटो र बायोडाटा अपलोड गर्नुपर्नेछ।
आयोजकले आवेदन छिट्टै बन्द गरिने र शोको अन्य तयारीहरु अघि बढाउने जनाएको छ।
यसबारे थप जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ।