शुक्रबार सोल्टी होटलमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ।
एवन बजारको रूपमा विगत चार दशक वर्षदेखि एक्टिभ उमन अफ नेपाल (एवन)ले सञ्चालन गर्दै आएको यो एक किसिमको च्यारिटेबल सेलिब्रेसन हो।
टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्वर्ग तथा रूपिज इन्टरनेसनल स्कुल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूतकी जेन क्रिल थोम्पसनले गर्दैछिन्। उनी एवनकी अनररी प्रेसिडेन्ट समेत हुन्।
विभिन्न किसिमका एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअप कम्पनी, अर्गानिक पोडक्ट, विभिन्न किसिमका स्थानीय उत्पादनहरू, फेसनवेयर, ट्राभल लगायतका स्टलहरू रहनेछन्।
विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रूचिका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको छ।
७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटसले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो। जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो।
एवनले आफ्ना सहयोगीहरू निरन्तर अगाडि बढाउँदै आएको छ। भूकम्प होस् या कोभिड एवन अहोरात्र खटिँदै आएको छ भने विभिन्न क्षेत्रमा गएर संस्थाले सकेको सहयोग निरन्तर गर्दै आएको छ। एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, 'देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ। हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवनले सक्रियता पूर्वक राहत सामग्री संकलन तथा वितरणका लागि काम गरिरहेका छौं।'
उनले थपिन्, 'हामीले सयौं छात्रवृत्ति, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, वृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौं।'
एवन बजारमा प्रवेश निःशुल्क रहेको छ भने बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। बजारको उद्घाटन राजदूत जेनले बिहान १० बजे गर्नेछिन्। बालबालिकाका लागि आकर्षक गेमिङ जोन समेत यहाँ रहनेछ।
यस्तै एवन बजारमा जाजरकोट भूकम्प पीडितको राहत संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लबसँगको सहकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याइएको छ।
जाजरकोटका भूकम्प पीडितलाई राहत सामग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामग्री राहत स्वरूप लिएर आइदिन समेत एवनले आग्रह गरेको छ।