द क्लिफ नेपाललाई आन्तरिक राजस्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ।
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सेवा/उद्योग अन्तर्गत सबभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो।
कार्यालयका प्रमुख कर अधिकृत शालिकराम आचार्यले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस-२०८० का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।
बन्जी र स्वीङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई क्याफेलगायत गतिविधि सञ्चालनमा छन्।