अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम) को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन्।
संस्थापक अध्यक्ष अजित विक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारण सभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन्।
संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ।
एमच्यामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रूपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए।
त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रूपमा कार्यसमितिमा रहने छन्।
श्रेष्ठले आफू नेतृत्वको टिममा ऊर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यावसायिक हितका लागि काम गर्ने बताए।
ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
यससँगै एमच्याम नेपाल अमेरिकन च्याम्बर अफ कमर्सको विश्वव्यापि नेटवर्कको १३० औं सदस्य बनेको छ।