वात्सल्य आइभिएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेकी छन्।
नयाँ दिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आइएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा. पाण्डेले ‘आइएफएस योङ एचिभर्स’ अवार्ड हात पारेकी हुन्।
इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त अवार्ड हात पार्ने डा. पाण्डे पहिलो नेपाली चिकित्सक हुन्। प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त अवार्ड पाएकी हुन्।
डा. पाण्डेका अनुसार मुम्बइको लिलावती अस्पताल एण्ड रिसर्च सेन्टरमा एक वर्षे फेलोसीपका क्रममा आइभिएफसम्बन्धी अनुसन्धानात्मक लेखहरू लेखेकी थिइन्।
'मेरो अनुसन्धान र एकेडेमिक कामहरूको सक्रियताका कारण यो अवार्ड पाएकी हुँ,' उनले भनिन्।
यी बाहेक उनी दुई वटा अन्तर्राष्ट्रिय जर्नलको सम्पादकीय टिममा समेत छिन्। डा. पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको 'ह्युमन रिप्रडक्सन' जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरू सम्पादनमा पनि सक्रिय छिन्।
डा. पाण्डेले ढाका युनिभर्सिटीबाट एमबिबिएस गरेकी हुन्। उनले काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका काठमाडौं मेडिकल कलेज (केएमसी) बाट स्त्री तथा प्रसुती रोगमा विशेषज्ञता हासिल गरेकी छन्।