लियो बहु जिल्ला परिषदले 'लियो सोसियल बिजनेस च्यालेन्ज-२०२३' घोषणा गरेको छ।
लियो बहु जिल्ला परिसद् ३२५ नेपालले चौथो संस्करणको 'लियो सोसियल बिजनेस च्यालेन्ज' घोषणा गरेको कार्यक्रम संयोजक आशिष लामिछानेले जानकारी दिए।
उनका अनुसार उक्त कार्यक्रमले बौद्धिक र उद्ययमशील युवामार्फत समाज, देश र विश्व परिवर्तन गर्न सक्ने छ।
'यस कार्यक्रममा उत्कृष्ट पिचिङ कसरी गर्ने भनेर सिक्नुको साथै कसरी व्यक्तित्व विकास र नेतृत्वको गुणस्तर बढाउने भनेर प्रशिक्षण दिने गरिन्छ,' उनले भने, 'सहभागीहरूले पेश गरेको नवीनतम विचार कार्यक्रमको अन्त्यमा व्यावसायिक प्रस्तुतीकरणमा परिमार्जन गरिनेछ।'
लियो सोसियल बिजनेस चयालेन्स आफ्नै व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पहिलो खुड्किला बन्न सक्ने उनको भनाइ छ ।
यस्तै, कार्यक्रममा सबै उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूले भाग लिन सक्नेछन्। सहभागीले पुस १६ गतेसम्म फारम भर्न सक्ने छन्। सहभागीता जनाउन कुनै पनि शुल्क लाग्ने छैन। प्रतियोगिता बिजेताले एक लाख ५० हजार बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ।
'लियो सोसियल बिजनेस च्यालेन्ज' पहिलोपटक सन् २०१९/२० मा सुरू भएको थियो। दिगो विकास लक्ष्यहरूलाई प्राथमिकतामा राखी यस कार्यक्रम गर्ने गरेको लामिछानेले बताए।
प्रतियोगितामा नेपाल लगायत अन्य देशले पनि सहभागिता जनाउने गरेका छन्।