उद्योग तथा निर्माण क्षेत्रमा कहलिएको शिवम् अर्गनाइजेसनले अस्पताल तथा होटल जस्ता सेवा क्षेत्रमा पनि लगानी गर्ने भएको छ।
यही क्रममा मोरङमा साढे दुई सय करोड लगानीमा ‘आर आर इन्टरनेसनल अस्पताल’ निर्माण गर्ने अर्गनाइजेसनले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका उद्योगी राजेन्द्र राउत नेतृत्वको अर्गनाइजेसनले मोरङ बुढीगंगा गाउँपालिका १ मा २ सय शय्याको अस्पताल निर्माण गर्ने भएको हो।
बुधबार शिलान्यास भएको अस्पताललाई सुरूमा १ सय शय्याको मल्टी स्पेसियालिटी अस्पतालका रूपमा सञ्चालन गर्ने र क्रमशः ३ सय शय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको अस्पतालका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए।
‘यही साताबाट अस्पताल निर्माण सुरू हुनेछ,’ राउतले भने, ‘२४ महिनाभित्र निर्माणको काम पूरा हुनेछ। २६ महिनापछि अस्पताल सुरू हुनेछ।’
जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पतालका सञ्चालक सदस्य प्रतिक राउतले जानकारी दिए।
‘यस अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गरी विशिष्टीकृत स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाउन लागिएको छ,’ उनले भने, ‘अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राख्नेछ।’
अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना छ।
सबै किसिमका शल्यक्रिया गरिने निर्माण पक्षले जनाएको छ।
विराटनगरमा रहेर उद्योग व्यवसाय क्षेत्रमा पहिचान बनाएका राजेन्द्र राउत गार्मेन्ट निर्यात उद्योगबाट चर्चित भएका हुन्। हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका राउतका विभिन्न उत्पादनमूलक उद्योग तथा व्यवसाय सञ्चालित छन्।
जुत्ता, चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोबार सञ्चालनमा छन्।
राउतले काठमाडौंमा अत्याधुनिक पाँचतारे होटल केही महिनाभित्रै सञ्चालनमा ल्याउँदैछन्।
‘होटल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ,’ राउतले भने, ‘उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव छ। सेवा क्षेत्रमा पनि त्यो अनुभवले पक्कै काम गर्नेछ भन्ने आशा छ।’