'हल्ट प्राइज नेपाल' ले विश्वविद्यालका विद्यार्थीहरूलाई 'हल्ट प्राइज' मा सहभागी हुन विश्वव्यापी आह्वान गरेको छ।
उद्यमशीलताको प्रवर्द्धन र विश्वव्यापी चुनौतीहरूको सामना गर्नका लागि 'हल्ट प्राइज' ले सन् २०२४ को लागि प्रतिस्पर्धात्मक प्रतियोगिता सुरू गरेको महिमा खतिवडाले जानकारी दिइन्।
उनका अनुसार यस वर्ष हल्ट प्राइजको थिम 'असीमित प्रभाव' रहेको छ।
'प्रतियोगितामा सहभागी हुनेले सामाजिक उद्यमको लागि कुनै पनि विचार प्रस्तुत गर्न सक्ने छन्,' उनले भनिन्, 'तर ती विचारले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्नुपर्छ भने संयुक्त राष्ट्र संघको कम्तिमा एउटा दिगो विकास लक्ष्यसँग आधारित हुनुपर्छ।'
प्रतियोगिताले नेपालभर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जटिल चुनौतीहरू सम्बोधन गर्दै दिगो सामाजिक प्रभावलाई जोड दिँदै, उल्लेखनीय १ मिलियन अमेरिकी डलर सुरक्षित गर्ने अवसरका साथ आविष्कारत्मक समाधानहरू सिर्जना गर्न आह्वान गर्दछ।
नेपालभरका विश्वविद्यालय र विद्यार्थीहरूलाई आफ्ना नवीन विचारमार्फत राम्रो भविष्यको आकार दिन यस प्रतियोगितामा साहभागी हुन हल्ट प्राइज नेपालले आह्वान गरेको छ।
हल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूका लागि वर्षभर चल्ने प्रतियोगिता भएको आयोजकले जनाएको छ। जहाँ विद्यार्थीहरूले खाद्य सुरक्षा, खानेपानी सहज पहुँच, ऊर्जा र शिक्षा जस्ता महत्त्वपूर्ण सामाजिक र विश्वव्यापी विषय सम्बन्धित समस्या समाधानबारे प्रस्तुती दिने गर्छन्।
प्रतियोगितालाई 'बर्टिल हल्ट' को सम्मानमा नाम दिइएको छ। उनी स्विडेनी अरबपति हुन्।
वार्षिक रूपमा सेप्टेम्बरमा, चुनौतीको विषयवस्तु र बिजेता पूर्व-अमेरिकी राष्ट्रपति बिल क्लिन्टनद्वारा छनोट गरिन्छ। जहाँ बिजेताले स्टार्टअप गर्न १ मिलियन डलर पूँजी पाउने गर्छन्।
हल्ट प्राइज नेपालको यस वर्ष कन्ट्री कोर्डिनेटर सुवि काफ्ले रहेकी छिन्। डेप्युटी कन्ट्री कोर्डिनेटरमा सन्दीप यादव र किशोर पनेरू छन्। त्यसैगरी टिममा सुप्रिया थापा, इप्सा गिरी, स्वम चौधरी, मधुश्री श्रेष्ठ, प्रकाश काफ्ले, सुप्रिया श्रेष्ठ, सचिन घिमिरे, रिजेशलाल सिंह, सरिना बुढाथोकी, दामोदर भुसाल र स्वप्निल विष्ट रहेका छन्।
डिसेम्बर ५ र ७ मा आयोजित अभिमुखीकरण कार्यक्रममा दुइ सयभन्दा बढी सहभागीहरूले भाग लिएको जनाइएको छ।