ह्याम्स अस्पतालले विराटनगरको बिग होटलमा कन्टिन्युइङ मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ।
मुलुकको सबै प्रदेशमा वर्षमा कम्तीमा एउटा सिएमई कार्यक्रम गर्ने उद्देश्यका साथ धनगढीपश्चात विराटनगरमा उक्त शैक्षिक कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ।
महत्वपूर्ण विधाका अनुसन्धान तथा उपचार पद्धतिसँग सम्बन्धित विषयका बारेमा ह्याम्समा कार्यरत देशकै उत्कृष्ट चिकित्सकहरूद्वारा ज्ञान तथा सीप आदानप्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो।
कार्यक्रममा मुटुको चालसम्बन्धी उपचारमा अग्रणी भूमिका खेल्दै आएका ह्याम्समा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतले मुटु कमजोर भएका बिरामीमा प्रत्यारोपण गरिने विशेष पेशमेकरको बारेमा जानकारी दिएका थिए।
फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेले फोक्सोमा हुने जटिल रोग आइएलडी (इन्टरष्टिसियल लङ्ग डिजिज) को नयाँ अनुसन्धान तथा उपचारको बारेमा जानकारी दिएकी थिइन्। साथै कोशी अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा.भुवनेश्वर यादवले पनि पेटसम्बन्धी रोगको बारेमा जानकारी दिएका थिए।
उक्त कार्यक्रममा विराटनगरमा कार्यरत विभिन्न अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरू गरी ७० जनाभन्दा बढीको उपस्थिति थियो।
यस्ता सिएमई कार्यक्रमले देशका विभिन्न ठाउँमा कार्यरत चिकित्सकको ज्ञान तथा सीप बढाउन मद्दत पुग्ने सहभागी चिकित्सकहरूले बताए।
नयाँ प्रविधि तथा अनुसन्धानका बारेमा एक आपसमा छलफल तथा अन्तर्क्रियाले चिकित्सकहरूको ज्ञान बढ्ने मात्र नभई उपचारमा एकरूपता ल्याउन पनि मद्दत गर्ने अस्पतालले जनाएको छ।