नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाई डेडिकेटेड र ट्रंकलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबारबारदेखि चरिकोटमा सुरू भएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रंकलाइनको विवादले व्यवसायीहरूको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्चस्तरीय आयोग बनाइ यसको तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।
समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरूबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उनले यसको तत्काल समाधान गर्न जरुरी रहेको बताए।
उनले उच्चस्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैको लागि यस्ता किसिमका समस्याहरूको समाधान आउने पनि बताए।
अहिले मुलुकको अर्थतन्त्रमा विस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसका लागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गरे।
निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगको बताए।