तीन वर्षपछि सह–सचिवस्तरीय र नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजिएससी) को बैठक बस्ने भएको छ।
आगामी शुक्रबार र शनिबार काठमाडौंमा आइजिएससीको बैठक बसिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख रामचन्द्र तिवारीले जानकारी दिए।
'सह–सचिवस्तरीय बैठक हो। त्यसबाहेक को–को प्रतिनिधि सहभागी हुन्छन्, निर्क्यौल भइसकेको छैन,' उनले भने।
उनका अनुसार बैठकमा नेपाल–भारतबीचको व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल हुनेछ।
सन् २०२० मा आइजिएससीको बैठक भर्चुअल बसेको थियो। आइजिएससीको बैठक ६/६ महिनामा बस्न सकिने प्रावधान छ। तर बैठकले निरन्तरता नपाउँदा वाणिज्य सन्धि पुनरावलोकन बिनै नवीकरण भएको छ।
सह–सचिवस्तरीय बैठकले अगाडि सारेका विषय सचिवस्तरीय नेपाल–भारत अन्तर सरकारी समिति (आइजिसी)मा लगिन्छ। त्यहाँबाट छिनोफानो भएको विषय आवश्यकता अनुसार दुवै मुलुकको संसदमा समेत पेश भएर स्वीकृति लिनुपर्ने हुन्छ।
तर, बैठकको नेतृत्व गर्ने मुख्य व्यक्ति परिवर्तन भइरहँदा आइजिसी तथा आइजिएससी लगायतका बैठक समयमा हुन नसकेको विज्ञ बताउँछन्।