चितवनको खैरहनीमा शनिबारदेखि खिचरा महोत्सव सुरू भएको छ।
थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले खैरहनी–५ स्थित गौचरनमा महोत्सव आयोजना गरेको हो।
थारू समुदायको महत्वपूर्ण पर्व माघीको अवसर पारेर गरिएको महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गरे।
खिचरा महोत्सवमा थारू समुदायको संस्कृति, कला, खाना, वेशभूषा, भाषा, साहित्य तथा परिकारहरूको प्रदर्शनी गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए।
महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले थारू समुदायसँग सम्बन्धित गरगहना, हस्तकलाका सामग्री, खानाका परिकार र संस्कृति प्रमुख आकर्षण रहेको बताए।
यहाँ हस्तकलाका सामग्री ढकिया, कटिया, धौरी, लोप हुन लागेका सामग्री कोलु(तेल पेल्ने), ढेकी(धान कुट्ने), काठका गाडा, तुहारी(चामल राख्ने भाँडा), पटही(धान राख्ने भाँडा) तथा थारु समुदायले लगाउने परम्परागत गहना प्रदर्शनीमा राखिएको छ।
थारू सामुदायको खानाका परिकारहरू घुँगी, घओगा, काकारा(गँगटा), सितुवा, चिचर, प्वाका, नग्गर रोटी, लोकल माछा, हाँसको मासु विक्रीका लागि राखिएका छन्। महोत्सव स्थलमा घुँगी र प्वाकाको प्रतिमा नै बनाइएको छ। परम्परागत सामग्रीहरुको अवलोकनका लागि थारु संग्रहालयसमेत तयार गरिएको छ।
महतोले हरेक दिन कम्तीमा १० समूहले थारू संस्कृति तथा नाच प्रदर्शन गर्ने बताए। ठेकरा, झर्रा, झुमरी, रासधारी, झाम्टा, डफु नाच थारु समुदायको परम्परागत नाचहरू हुन्।
थारू संस्कृतिको उत्थान, युवा पुस्तालाई संस्कृति हस्तान्तरण, लोप हुँदै गएका परम्परागत सामग्रीको जगेर्ना गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको थारू कल्याणकारिणी सभाकी अगुवा चन्द्रा चौधरीले बताइन्।
उनले युवा पुस्ताले संस्कृति भुल्दै जान थालेपछि महोत्सवमार्फत् उनीहरूलाई संस्कृतिको संरक्षणमा अग्रसर गराइएको बताइन्।
‘अचेल घुँगी, थारूका पहिरनको चर्चा धेरै हुन थालेको छ। केही वर्षअघि यी कुरा हराउने खतरा थियो। खिचरा महोत्सवमार्फत यी कुराको प्रचार बढी भयो,’ उनले भनिन्, ‘अहिले थारु संस्कृतिप्रति अन्य समुदायको पनि चासो बढ्दै गएको छ।’
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। करिब ७ करोड रुपैयाँको कारोबार हुने र ७० देखि ८० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको प्रचार–प्रसार संयोजक दिपेश चौधरीले बताए।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन, स्थानीयकला, संस्कृति, शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाका १४० वटा स्टलहरु छन्। रेष्टुरेन्टका स्टलहरु २६ वटा छन्।
२०७० सालदेखि आयोजना गर्न थालिएको खिचरा महोत्सवको यो नवौं संस्करण हो।
थारू समुदायलाई चितवनका आदिवासी भन्ने गरिन्छ। खैरहनी नगरपालिका थारु समुदायको बाहुल्यता रहेको स्थानीय तह हो।
चितवनको रत्ननगरमा पनि अहिले रत्ननगर महोत्सव सञ्चालन गरिएको छ।